२७ पुस, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रचार शाखामा कार्यरत कर्मचारी श्री चन्द्र प्रसाद पौडेललाई प्रचार प्रसार शाखा कर्मचारी परिवारले बिदाई गरेका छन् ।
सेवा निबृत्त हुन लागेका पौडेललाई शाखा प्रमुख दुर्गा प्रसाद दुलालले कदर पत्र प्रदान गर्दै बिदाई गरेका हुन् । यस्तै शाखाका अन्य कर्मचारीहरुले पौडेललाई मायाको चिनो सहित खादा ओडाएर सम्मानका साथ बिदाई गरे । पौडेल माघ १ गते देखि अवकास प्राप्त गर्दैछन् ।
बिगत ३३ बर्ष देखि अनवरत रुपमा राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारी पौडेल करारमा कार्यरत थिए । ३३ बर्षको सेवामा कति सदस्य सचिव आए कति बरिष्ठ कर्मचारी सेवा निवृत भए तर उनको स्थाई भएर परिवारका लागि केहि सहयोग पु¥याउने सपना भने सपनामानै समाप्त हुने भएको छ । एक स्थाई कर्मचारी सेवा निबृत्त हुँदा ठुलो धनरासी लिएर बिदा हुन्छन, तर यती लामो समय सम्म परिषद्लाई सेवा गरेका पौडेल खाली हात बिदाई हुँदैछन् ।
ब्याडमिन्टन खेलाडीहरुलाई रिगल हेटौडा रिसोर्टको सहयोग रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका चेयरम्यान बिनोद कुमार बमजनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका हुन् । ब्याडमिन्टन खेलाडी समेत रहेका बमजन विभिन्न समाज सेवामा समेत कार्यरत रहेका छन् । उनले समाज सेवका साथै विभिन्न खेल क्षेत्रमा लगानी गर्दै आईरहेको ब्याडमिन्टन प्रमुख प्रशिक्षक सुदीप योञ्जनले जानकारी गराए । यस अघि आईतबार मात्रै सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरुका लागि २५ थान केल्मे ब्रान्डको ज्याकेट प्रदान गरेका थिए ।
पल्सर स्पोर्टस अवार्डको तयारी पूरा
नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ आंै वर्ष मनाउने क्रममा मंगलबार (पुस २८) गते १७ औं पल्सर स्पोर्टस अवार्ड कार्यक्रमलाई भव्यताका साथ आयोजना गर्दैछ ।
कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागिएको हो । मञ्च २०५२ साल भदौ २५ गते स्थापना भएको हो । कोरोनाका कारण मञ्चले आफ्नो रजत वर्षलाई थप कार्यक्रम गरेर मनाउन पाएन । खेलकुद पत्रकारितालाई व्यावसायिक र संगठित रूपमा अघि बढाउने उद्देश्यले स्थापित मञ्चले धेरै आरोह र अवरोध पार गर्दै आएको छ ।
खेलकुद पत्रकारितासँगै खेलाडी र खेलकर्मीको प्राप्त उपलब्धिलाई सम्मान गर्न मञ्चले आफ्नो स्थापनाकालदेखि नै अवार्ड कार्यक्रम सुरुवात गरेको थियो । सुरुवातका केही वर्ष आयोजना गरे पनि यसले नियमितता पाउन सकेको थिएन ।
२०६० सालमा नयाँ नेतृत्व आएसँगै अवार्ड कार्यक्रमले निरन्तरता पाएको थियो । तर विनाशकारी भूकम्पका कारण वर्ष २०७२ मा अवार्ड कार्यक्रम आयोजना हुन सकेन ।
विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण यस वर्ष पनि सहज ढंगले अवार्ड आयोजना गर्नसक्ने अवस्था थिएन । तर घरेलु भूमिमा आयोजित नेपाली खेलाडीका लागि ठूलो खेलमहोत्सव १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न पनि स्पोर्ट्स अवार्ड आयोजना गर्नुको विकल्प थिएन ।
यस विषम परिस्थितिबीच १७ औं संस्करणको अवार्ड कार्यक्रम सम्पन्न गर्ने संघारमा आइपुगेको जानकारी गराउन पाउँदा मञ्च परिवार गौरवान्वित र हर्षित छौं । यस कठिन अवस्थामा पनि साथ दिने प्रायोजक, सह–प्रायोजकप्रति मञ्च परिवार हार्दिक आभार प्रकट गर्न चाहन्छ । अवार्डको विभिन्न चार वटा राष्ट्रिय टेलिभिजनहरु एनटीभी प्लस एचडी, जनता टेलिभिजन एचडी, इमेज च्यानल र एक्सन स्पार्टस एचडीले प्रत्यक्ष प्रशारण गर्नेछन् भने मिडिया हब, एनएसजेएफको यूटुब र फेसबुक पेज सहित विभिन्न सञ्चार माध्यमका डिजिटल माध्यमबाट अवार्डलाई हेर्न सकिनेछ ।
यस वर्ष समेत पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् । ई–सेवामार्फतको भोटिङ, फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछन् ।
पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन मंगलबार घोषणा गरिने छ ।
वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) हुने अवार्डमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको छ ।