२७ पुस, काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने विश्वास व्यक्त गरेका छन् ।
अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे। “सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई हामी एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ । त्यसका लागि तपाईंहरु तयार हुनुहोला । अब गुनासो गर्ने होइन अग्रगामी रुपमा अगाडि बढ्ने हो”, उनले राष्ट्रिय सहकारी महासङ्घको २८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै भने ।
मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसहित सहकारी अभियान्ताको सामूहिक र एकीकृत छलफल गरेर समस्या समाधानमा पहल गरिने बताए । उनले भने, “गुनासोले मात्र गन्तव्यमा पुगिदैन । सरकारले के गर्नुपर्ने अभियानबाट योजना बनाउनुस् र त्यसको समाधान गरेर अगाडि बढौँ ।”
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले महासङ्घले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपाय खोज्न आग्रह गरे । उनले सहकारी मैत्री नरहेका कानून संशोधनको प्रक्रिया अगाडि बढाउने विश्वास व्यक्त गरे । साधारणसभामा पूर्वमन्त्री केशव बडालले लेखेका १६औँ पुस्तक समाजवाद र महासङ्घले प्रकाशन गरेको सहकारीका सिद्धान्तको मार्गदर्शन सार्वजनिक गरिएको थियो । साधारणसभामा महासङ्घका अध्यक्ष मीनराज कँडेलले महासङ्घको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।