६ माघ, काठमाडौं । आजको मौसमः काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस पुगेको छ । मौसमविद मीनकुमार अर्यालका अनुसार आज विहान साढे ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
उनका अनुसार अहिले विहान सामान्य तुवाँलो लागेको छ भने बादल पनि लागेकाले आंशिक बदलीको अवस्था रहेको अर्यालले बताए । काठमाडौंमा आज दिउँसो आंशिक बदली रहने छ । घाम लाग्ने र बादल लाग्ने क्रम दिनभर चल्ने छ ।
यस्त आज विहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै आज राति प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यद्यपि यो सम्भावना निकै न्यून रहेको मौसमविद् अर्यालले बताए ।
देशको विभिन्न भू-भागमा बादललागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने विभागको भनाइ छ ।
तराइका केही भू-भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । विहान लागेको हुस्सु र कुहिरो केही समयमा हटेर जाने आर्याल बताउँछन् ।