समाचार

भारतमा मध्यरातमा भयानक दुर्घटनाः फुटपाथमा सुतेका मजदुरमाथि ट्रक चल्दा १३ को मृत्यु

६ माघ, एजेन्सी । भारतमा मध्यरातमा भयानक दुर्घटना भएको छ । भारतको गुजरातमा गएराति भएको दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ । गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमले जानकारी दिएका छन् ।

त्यहाँको प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए । दुर्घटना गएराति किम-मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक भएको हो । फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको हो । १२ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो , अन्य ७ जना गम्भीर घाइतेको उपचार जारी छ ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ । प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएको ट्रक मजदुर सुतिरहेको फुटपाथमा चढेको थियो।