गण्डकी प्रदेश

गुम्बा पुनर्निर्माणका लागि सम्झौता

६ माघ, दमौली / विसं २०७२ वैशाखको भूकम्पले क्षति पुगेको तनहुँका दुई गुम्बा पुनर्निर्माणका लागि सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँले दुई गुम्बा पुनर्निर्माणका लागि सम्झौता गरेको हो ।
भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनर्निर्माणका लागि सम्झौता भएको आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।
आगामी असार १५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । “एक सय वर्षभन्दा पुरानो भए केन्द्रबाट र १०० वर्षभन्दा कम भए जिल्लाबाट पुनर्निर्माण गर्ने प्रावधानबमोजिम तनहुँका दुई गुम्बा पुनर्निर्माणका लागि सम्झौता भएका छन्”, गुप्ताले भने, “छिट्टै काम शुरु गर्ने तयारी गरेका छौँ ।” रु ८७ लाख ७३ हजार ६२० को लागतमा दुई गुम्बा पुनर्निर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु ६० लाख ८५ हजार ७४ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तह र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ ।
गुप्ताका अनुसार उर्गेन छोइलिङ गुम्बा रु ४४ लाख ६६ हजार २० को लागतमा पुनर्निर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु ३० लाख ९७ हजार ४७४ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु १२ लाख १८ हजार पाँच सय ४५ ब्यहोर्नेछन् ।
त्यस्तै बुद्धहिमानी तमु समान गुम्बा रु ४३ लाख सात हजार ६०० को लागतमा पुनर्निर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु २९ लाख ८७ हजार ६०० उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु ११ लाख ७० हजार ब्यहोर्ने छन् ।

भूमिहीनलाई घर बनाउन अनुदान

जिल्लाका भूमिहीनलाई घर बनाउन जग्गा खरीदका लागि पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको छ । वर्षौंदेखि सार्वजनिक जग्गामा टहरा बनाएर बसेका भूमिहीन लाभग्राही पहिचान गरी उनीहरुलाई जग्गा खरीद गरी घर बनाउन अनुदान उपलब्ध गराइएको गुप्ताले जानकारी दिए ।
उहाँका अनुसार १६ लाभग्राही पहिचान भएकामा १३ जनालाई रु दुई लाखका दरले अनुदान उपलब्ध गराइएको छ भने दुई जना लाभग्राहीका लागि जग्गा खरिदको प्रक्रिया अगाडि बढाइएको छ । स्थानान्तरण हुन नचाहनेको हकमा पुरानै यथास्थानमा निजी आवास निर्माणका लागि स्वीकृति दिइएको छ । त्यस्तो सङ्ख्या दश वटै स्थानीय तहमा गरी ३७८ छन् ।
तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ६८।५७ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको छ । हालसम्म नौ हजार ३७३ घर पुनर्निर्माण भएको छ । पहिलो किस्ता लिने लाभग्राही १३ हजार ६६८ र दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या १० हजार ६५४ रहेको छ ।
माघ मसान्तभित्र डिपिसी गरेर वडा कार्यालयको सिफारिसपश्चात् दोस्रो किस्ता र आगामी वैशाख मसान्तभित्र घर सम्पन्न गरेर वडा कार्यालयको सिफारिसपश्चात् तेस्रो किस्ताको रकम वितरणको तयारी गरिएको गुप्ताले जानकारी दिए ।
कार्यालयका अनुसार व्यास नगरपालिकामा एक हजार ३५३, भानु नगरपालिकामा दुई हजार ९९३, बन्दीपुर गाउँपालिकामा ६८४, आँबुखैरेनी गाउँपालिकामा ५९७, देवघाट गाउँपालिकामा ४१८, घिरिङ गाउँपालिकामा १९७, भीमाद नगरपालिकामा ६७३, म्याग्दे गाउँपालिकामा ९१७, शुक्लागण्डकी नगरपालिकामा एक हजार २०२ र ऋषिङ गाउँपालिकामा ३३९ निजी आवास पुनर्निर्माण सकिएको छ ।
व्यास नगरपालिकामा दुई हजारले पहिलो र एक हजार ४८५ ले दोस्रो, भानु नगरपालिकामा चार हजार ३८८ ले पहिलो र तीन हजार ३५१ ले दोस्रो, बन्दीपुर गाउँपालिकामा ९४३ ले पहिलो र ८१७ ले दोस्रो, आँबुखैरेनी गाउँपालिकामा ७३३ ले पहिलो र ६३८ ले दोस्रो, देवघाट गाउँपालिकामा ५९३ ले पहिलो र ४७८ ले दोस्रो किस्ताबापतको रकम बुझेका छन् । यसैगरी घिरिङ गाउँपालिकामा २९३ ले पहिलो र २२० ले दोस्रो, भीमाद नगरपािलकामा एक हजार ४२ ले पहिलो र ८२५ ले दोस्रो, म्याग्दे गाउँपालिकामा एक हजार ३११ ले पहिलो र एक हजार दुईले दोस्रो, शुक्लागण्डकी नगरपालिकामा एक हजार ८५२ ले पहिलो र एक हजार ४३२ ले दोस्रो र ऋषिङ गाउँपालिकाका ५१७ ले पहिलो र ४०६ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझेका छन् । प्रवलीकरणतर्फ एक हजार ५६८ लाभग्राही रहेकामा एक हजार २४१ ले सम्झौता गरेका छन् भने एक हजार २३४ ले पहिलो र आठ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझेको जनाइएको छ ।