९ माघ, काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिएका छन् ।
उनका अनुसार आज काठमाडौंमा दिउँसोको तापक्रम १८-२० डिग्री सेल्सियसको बीचमा हुने छ । मौसमविद् राजुका अनुसार आज काठमाडौंको मौसम सफा नै रहने र केही समय बादल लागे पनि समग्रमा मौसम सफा नै रहने छ ।
अहिले काठमाडौंको भिजिविलिटी चार हजार मिटर रहेको छ र यसले हवाई उडान तथा अवतरणमा कुनै असर गर्दैन । विमान उडान तथा अवतरणका लागि १५ सय मिटर भिजिविलिटी भए पुग्छ ।
केही दिन अझै तापक्रम घट्दै जाने उनी बताउँछन् । तर, आगामी तीनदिनको मौसमी विवरण हेर्दा चिसो थप बढ्दै जाने देखिन्छ । तर, चिसो एकचोटी अत्यधीक होइन विस्तारै सामान्य रुपमा बढ्ने देखिन्छ,” उनले भने ।
अहिले (विहान) देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरोसमेत लागे पनि दिउँसो क्रमशः हट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश १, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले तापक्रममा कमी आउँदा चिसो बढ्नेभन्दै यसबाट बच्न सतर्क हुन आग्रह गरेको छ ।