१० माघ, काठमाडौं । देशका अधिकांश स्थानमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहले जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस बाहेक बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
शनिबार राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा शनिबार राति हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको र तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
देशको उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।