१० माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि हुने भएको छ ।
अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक रामप्रताप थापालगायतले सम्बोधन गर्ने बताइएको छ । संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन हुन लागेको गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले बताएका छन् ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड- १९ को प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक सो अधिवेशन भर्चुअल (जुम) मार्फत हुन लागेको छ । आज बिहानदेखि दुई दिनसम्म चल्ने सो अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नेछन् ।
अधिवेशनमा ५० भन्दा बढी देशका २ हजार ६ सय जना प्रतिनिधि सहभागी हुने संघले जनाएको छ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार सो अधिवेशनमा सन् २०१९ को अक्टोवरमा सम्पन्न नवौं महाधिवेशनमा पारित हुन नसकेको आर्थिक प्रतिवेदन पुनः प्रस्तुत गर्ने तयारी संघले गरेको छ । महाधिवेशनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
गैरआवासीय नेपाली संघको पुनर्संरचनाको लागि सो महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस हुने तयारी भएको छ । संघको अभियानमा दीर्घकालीन असर पर्ने महत्वपूर्ण विषयमा विधान संशोधन गर्नुअघि व्यापक छलफल र सहभागिताको माग गर्दै देखिएका अन्तुष्टिलाई समेत समेटेर पारित गर्ने संघका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।
यसअघि संघले पूर्वप्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा १७/१७ सदस्यीय विधान संशोधन सुझाव समिति गठन गरेको थियो। सोही समितिको सिफारिसलाई आधार बनाएर संघले विधान संशोधनको साँझ प्रस्ताव तयार गरेको हो ।
यसअघि परराष्ट्र मन्त्रालयले भर्चुअलमाध्यमबाट विशेष महाधिवेशन गर्नको लागि स्वीकृति दिएको थियो। संघले संस्थागत संरचना, एनआरएनए फाउन्डेसन, सदस्यता शुल्क, विज्ञको सहभागिता, राष्ट्रिय महाधिवेशनलगायत विषयमा विधान संशोधनको तयारी गरेको छ ।