साहित्य

साहित्यकार डा दुलाल: जसले खोजे इलामको साहित्यिक इतिहास

किरण पौड्याल, ११ माघ, इलाम । कुनै विधाको इतिहास लेख्न सहज छैन । मौलिक कृति वा सामान्य पुस्तक निकाले जस्तो प्रयत्नले इतिहास लेखिँदैन । अनुसन्धान बढी गर्नुपर्ने र तथ्यमा ढाल्दै साङ्गोपाङ्ग वर्णन गर्नुपर्छ । वास्तविकताको गहिराइमा नपुगी लेखेमा भ्रम फैलिन सक्ने वा अपत्यारिलो हुनेसम्म हुन्छ ।
यस्तै एउटा सङ्घर्षशील प्रयत्न गरेर सफलता हात पर्नुभएको छ इलामका साहित्यकार डा देवी क्षेत्री दुलालले । दुलालले समग्र इलामको साहित्यिक इलामलाई पुस्तकमा ढालेका छन् । करिब आठ वर्षको अथक प्रयत्नपछि डा दुलालले पुस्तक सकेर सार्वजनिक गरेका हुन् । हुन त डा दुलाल कहलिएकै लेखकमा पर्नु हुन्छ । हालसम्म उनका विभिन्न विधाका १७ कृति प्रकाशित भइसकेका छन् । पछिल्लो कृति ‘इलामको साहित्यिक इतिहास’ लेख्नका लागि भने धेरै सङ्घर्ष गर्नुपरेको थियो ।
त्यसै पनि अग्रज साहित्यकारको नाम कहिएको जिल्ला इलाम । धेरै साहित्यकारका असङ्ख्य कृतिको जानकारी राखेर पुस्तक लेख्न उनले अनेक दौडाहा गर्नुपर्यो । कहिले काठमाडौँ त, कहिले जिल्ला अनि कहिले पुस्तकालय त कहिले अग्रजको सामु पुगिरहनु पर्यो । केही प्रमाण खोज्न त मिठाइ पसलसमेत पुग्नु पर्यो । ऐतिहासिक सम्पत्तिको मर्म नबुझी बेचबिखन र नष्ट गरेपछि धेरै प्रमाण पत्ता लागेन तर पनि ठूलो प्रयत्नपछि केही तथ्य फेला पर्यो । “महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा धेरै प्रमाण छन् भन्ने सुनेको थिएँ तर सबै कागजपत्र मिठाइ पसललाई बेचिदिए छन्”, उनले भने, “चोकबजारको अङ्कित मिष्ठान्न भण्डार ९मिठाइ पसल०मा आएर खोज्दा केही चिज भेटियो पनि । यसैलाई आधार बनाएर पुस्तक लेख्न बसेँ ।”
उहाँका अनुसार खोज्दै जाँदा पहिले लेखिएका विषय नै फरक भेटिए । “गहिरो अनुसन्धानले वास्तविक तथ्य फेला परे र लेखियो”, डा दुलालले भने, “मेरो यो पुस्तक लेखन मात्र थिएन, एउटा अनुसन्धान पनि थियो । त्यसैले लेखियो ।”

के छ पुस्तकमा ?
पुस्तकमा इलाममा जन्मथलो र कर्मथलो बनाएका २५५ साहित्यकारको जानकारी दिइएको छ । कृति प्रकाशित गरेका ती साहित्यकारको नाम, ठेगाना र कृतिका बारेमा जानकारी गराइएको छ । दिग्गज साहित्यकारदेखि फाट्टफुट्ट लेखन गरेर कृति प्रकाशित गर्नेको फेहरिस्त क्रमानुगत लेखिएको छ ।
अनि पुस्तक प्रकाशित नगरेका तर साहित्यकारमा दर्जिएका व्यक्तिको नामावली दिएको छ । जिल्ला बाहिरका साहित्यकारका बारेमा जानकारी दिइएको छ । इलामे इतिहासमा भेटिएका विसं १९२४ देखि हालसम्मका कृति बारेमा सविस्तार चर्चा गरिएको छ ।
“साहित्यिक नालीबेली पहिल्याउँदै जाँदा लिखित प्रमाणका आधारमा १९२४ सालभन्दा अघि बढ्न सकिन्न”, डा दुलालले पुस्तकमा लेखेका छन्, “तर पहिलेका केही कृतिमा अन्य साहित्यकारको नाम उल्लेख गरे पनि इलामे पहिलो साहित्यकार सन्त ज्ञानदिल दास (विसं १८७८–१९४०) हुन् ।” पुस्तकमा विसं २००० भन्दा पहिले जन्म भएका ६२ साहित्यकारको चर्चा गरिएको छ । साहित्यकारको जन्मथलो, कर्मथलो साथै अहिलेको अवस्थाका बारेमा जानकारी गराइएको छ ।
पुस्तकमा आवश्यकतानुसार पुराना कृतिको तस्वीरसमेत समावेश गरिएको छ । डा दुलालको जन्म इलाममा भएको भएको होइन । पाँचथरबाट बसाइँ सरेर इलाम आउनुभएको हो । जन्मभूमि नभएकाले धेरै विषयमा जानकारी थिएन तर पनि गहिरो खोजपछि उहाँले पुस्तक लेख्न सम्भव भएको बताएका छन्।