समाचार

पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै नेकपा उपाध्यक्ष बामदेव गौतम

१४ माघ, कठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन् । ललितपुरको एक होटलमा आज बिहान ११ बजेपछि कार्यक्रम गरेर गौतमले अभियान घोषणा गर्न लागेका हुन् ।

पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेकोले आफूले राष्ट्रिय एकता अभियानको घोषणा गर्न लागेको उपाध्यक्ष गौतमले बताएका छन् । पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम-प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको उपाध्यक्ष गौतमको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटनको घोषणाअघि प्रधामन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै आएका गौतम प्रतिनिधिसभा विघटनपछि भने कुनै पनि समूहमा रहेका छैनन् । आफू प्रचण्ड-नेपाल समूह या ओली समूहमा नजाने भन्दै उनले पार्टी एकता अभियान सुरु गर्न लागेका हुन् ।

प्रतिनिधिसभा विघटनको कदम गलत रहेको तर आफू नेकपाका दुबै समूहलाई मिलाएर अघि बढ्न सक्रिय हुने र कुनै पनि समूहमा नलाग्ने उनको भनाई छ । ओलीले संसद बिघटन गरेपछि यतिबेला नेकपा दुई समसहमा विभाजन भएको छ ।

एउटा समुहको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्काे समुहको नेतृत्व पुष्पकमल दाहाल-माधवकुमार नेपालले गरेका छन् । उपाध्यक्ष गौतम भने कुनै पनि समुहमा नलागी तटस्थ देखिएका छन् ।