१४ माघ, पर्वत । पर्वतमा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु भएको छ ।
पहिलो चरणको खोप अभियानअन्तर्गत आजदेखि जिल्ला अस्पताल पर्वतमा कार्यरत स्वास्थ्यकर्मीबाट खोप लगाएर अभियान थालिएको हो । जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देवकोटा र स्वास्थ्य कार्यालयका प्रमुख भोजराज गौतमले पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका छन् ।
यो अभियान यही माघ १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । अभियानअन्तर्गत पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत व्यक्तिलाई खोप लगाउन आह्वान गरिएको हो । पहिलोचरणका कार्यक्रमअन्तर्गत कुश्मा नगरपालिका कार्यक्षेत्र भएका ३०५, पर्वत अस्पतालमा कार्यरत ८२, स्वास्थ्य कार्यालयमा कार्यरत १२ र शव व्यवस्थापनमा खटिएका चार सुरक्षाकर्मी गरी १३३ लाई आज खोप लगाउने कार्य भइरहेको र आजै १०० बढीले खोप लगाइसकेका छन् ।
अभियानअन्तर्गत जिल्लाभरका स्वास्थ्य संस्थामा कार्यरत एक हजार २३१ स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप लगाउने तयारी गरिएको छ भने कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि खटिएका चार नेपाली सेनाका सुरक्षाकर्मी गरी एक हजार २३५ जनालाई खोप दिने भएको छ ।
अभियानअन्तर्गत पर्वतमा एक हजार ३८० डोज कोभिशिल्ड खोप भित्रिएको छ ।