पु.समाचार

चालकसँग पाँच मिनेट कार्यक्रम

१५ माघ, नवलपुर । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीले दुर्घटना न्यूनीकरणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुईपाङ्ग्रे सवारी साधनका चालकका लागि सप्ताहव्यापी सडक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

गण्डकी प्रदेशमा नै सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रका रुपमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) रहेको तथा दुर्घटनामा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन पर्ने भएका कारण यहाँ सचेतनामूलक कार्यक्रम गरिएको हो ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले दुईपाङ्ग्रे सवारी साधन चालकलाई सडकमै रोकेर पाँच मिनेटसम्म सडक सुरक्षाका बारेमा प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । नवलपरासीमा दैनिकजसो दुर्घटना भइरहेको र त्यसमा धनजनको क्षतिसमेत धेरै भएको पाइएकाले दुर्घटना र यसबाट हुने क्षति न्यूनीकरण गर्न प्रशिक्षण प्रभावकारी हुने ढकालले बताए ।

प्रदेशका ११ वटा जिल्लामध्ये दुर्घटनाको सबैभन्दा बढी जोखिम नवलपुरमा भएको भन्दै ढकालले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनका चालकलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको बताए । “दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी साधनका चालकलाई हामीले सडकको किनारमा रोक्छौँ”, ढकालले भने, “उनीहरुलाई सडक सुरक्षासम्बन्धी ज्ञानका बारेमा थप जानकारी गराउँछौँ । यस कारण दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण टेवा पुग्नेछ ।” सवारी चालकलाई ट्राफिक नियमका बारेमा जानकारी छैन भन्ने उद्देश्य नभई उनीहरुसँग भएको ज्ञानलाई पुनर्ताजगी बनाउन अभियान सञ्चालन गरिएको ढकालले बताए ।

कार्यक्रम शुभारम्भ गर्दै ढकालले सडकमा नै मोटरसाइकल रोकेर चालकलाई प्रशिक्षण दिएका थिए। उनले ओभरटेक गर्दा लेन अनुशासन पालना गर्नुपर्ने, हेल्मेटको सेफ्टी क्लिप लगाउनुपर्ने, हतार गर्दा दुर्घटना हुनसक्ने भन्दै घरबाट निस्किँदा केही छिटो निस्कनुपर्ने जस्ता विषयमा चालकलाई प्रशिक्षण गराएका थिए । यो कार्यक्रम जिल्लाको विभिन्न स्थानमा एक सातासम्म सञ्चालन हुनेसमेत ढकालको भनाइ थियो ।

कार्यक्रममा नवलपरासी (बर्दघाट–सुस्तपूर्व)का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले सवारी साधन चलाउँदा हतारिन नहुने भन्दै सावधानी अपनाउन चालकलाई आग्रह गरे । जिल्लामा साइकल र मोटरसाइकल बढ्दै गएकाले सवारी साधन चलाउँदा सजग हुन पङ्गेनीले आग्रह गरेका थिए । सडकमा पाँच मिनेट रोकिँदा कुनै हतार नहुने भन्दै ट्राफिक प्रहरीले सिकाएको ज्ञानबारे समुदायमा समेत जानकारी गराउन उनले चालकसँग आग्रह गरे ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्लामा ६७ किलोमिटर मुख्य राजमार्ग तथा धेरै सहायक मार्ग भएकाले सवारी साधन गुडाउँदा सावधानी अपनाउनुपर्नेमा जोड दिए । सवारी साधनको दुर्घटनालाई कम गर्नसकेमा धनजनको क्षति कम गर्न सकिने भन्दै उहाँले चालक सचेत भएको अवस्थामा ५० प्रतिशतभन्दा बढी दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजनामा भएको कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले समन्वय गरेको छ ।