राजनीति

डा.संग्रौला आक्रोशितः ओली सरकारले जनमतको चिरहरण गर्यो

१७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले ओली नेतृत्वको सरकारले जनमत र लोकतन्त्रको चिरहरण गरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

आज रिपोर्टस क्लब नेपाललले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेतृ संग्रौलाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारले जनमतको चिरहरण गरेको बताएकी हुन् ।

उनले ओलीले लोकतन्त्रको घाँटि निमोठेको समेत टिप्पणी गरेकी छिन् । उनले प्रतिनिधिसभा लहडमा भंग गर्ने। न्यायपालिकामा भएको बहसलाई वाहियात भन्ने र फरक मत राख्नेलाई होच्याउने प्रबृत्तिले ओली आँफैमा नैतिकता नरहेको बताएकी छिन् ।

नेतृ संग्रौलाले आँफैले बनाएको संविधान, कानुन तथा बिधिबाहिर गएर प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लादेको समेत बताएकी छिन् । उनले ओलीको प्रतिगमनका बिरुद्ध बिरोधको विकल्प नरहेको समेत बताईन ।

उनले सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिनुपर्ने धारणा व्यक्त गरेकी छिन् ।