१७ माघ, लमजुङ / ‘सबैको लागि मानव अधिकार शान्ति र विकासका आधार’ भन्ने मूल नारासहित पत्रकारका लागि आयोजित मानव अधिकार तालीम आज यहाँ सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ लमजुङको समन्वयमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित उक्त दुईदिने तालीममा लमजुङ र तनहुँ जिल्लाका ४८ पत्रकारको सहभागिता थियो ।
तालीममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईंले मानव अधिकार र राज्यको दायित्व, मानव अधिकारको सिद्धात र अवधारणासँगै मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाबारे जानकारी गराए । त्यस्तै आयोग समन्वय महाशाखाका प्रमुख रमेशकुमार थापाले मानव अधिकारसम्बन्धी प्रमुख अन्तर्राष्ट्रिय महासन्धि र राष्ट्रियस्तरमा मानवको विकासक्रम तथा आयोगका मानव अधिकार अधिकृत टङ्कप्रसाद खनालले मानव अधिकार रक्षाको अवस्था, भूमिका र चुनौतीबारे जानकारी दिएका थिए ।
मानव अधिकार मैत्री समाचार सम्बन्धि लेखनमा दक्ष बनाउने उद्देश्यले आयोजित तालीमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरमा मानव अधिकारको संरक्षण, प्रवद्र्धन तथा समानता कायम गरी अपराध नियन्त्रण तथा सचेतना जगाउनका लागि पत्रकारका लागि तालीम प्रदान गरिएको आयोगका मानव अधिकार अधिकृत खनालले बताए ।