१९ माघ, काठमाडौं । नुवाकोटमा नेकपा ओली समूह र पुष्प कमल दाहाल-माधव कुमार नेपाल समूहबीच झडप भएको छ । झडपमा दाहाल-नेपाल समूहका तीनजना कार्यकर्ता सामान्य घाइते भएका छन् ।
ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी नुवाकोट पुगेका थिए ।
केहिबेर अघि दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले बट्टार क्याम्पस अगाडि कालोझण्डा देखाइ उपप्रधानमन्त्री चढेको गाडीमा ढुंगामुडा गरेपछि दुबै पक्षबीच झडप भएको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर केपी ओली मुर्दाबादका नारा लगाएका थिए ।
ढुंगामुडापछि पोखरेलको गाडीमा सामान्य क्षति पुगेको छ ।उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको स्वकीय सचिव मिनबहादुर सिंह चढेर आएको नेपाल आयल निगमको गाडीको पछाडिको भागमा भने पूर्ण क्षति पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।