२० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल- माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको छ ।
आज बिहान पार्टी आधिकारिकता दाबीको पत्र बोकेर दाहाल-नेपाल समूहका नेताहरु आयोगको कान्तिपथस्थित कार्यालय पुगेका हुन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाललगायतका नेताहरु आयोग पुगेका हुन् ।
यसअघि, सोमबार बसेको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो । ४ सय ४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ ।
प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित छ । निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएको छ ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो तर त्यसले कानुनी मान्यता पाएको छैन । आयोगमा दल दाबी गर्न दाहाल-नेपाल पक्ष पुगेसँगै नेकपा कानुनी रूपमा पनि विभाजनतर्फ जानेछ ।