समाचार

मन्त्रालयको आवश्यक सहयोग र समन्वय हुन्छ: मन्त्री ज्ञवाली

२१ माघ, काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभामा निर्वाचन पर्यवेक्षण व्यवस्थापन लगायतका विषयमा प्रदीपकुमार ज्ञवालीसँग परामर्श गरेको छ ।

उनीसँग निर्वाचन पर्यवेक्षण गर्न कूटनीतिक नियोग, अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थालाई अनुरोध गर्ने तथा त्यस्ता नियोग र संस्थाबाट समग्र निर्वाचन कार्यसहित मतदानको दिनकोसमेत पर्यवेक्षण गराउन आवश्यक समन्वय गर्नेलगायतका विषयमा छलफल भएको आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिए।

निर्वाचन आयोग ऐनमा कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित काम कारवाहीको पर्यवेक्षण गर्नका लागि आयोगले अनुमति दिनसक्ने व्यवस्था छ । सरकारले आगामी वैशाख १७ र २७ गते दुुई चरणमा निर्वाचन गर्नेगरी डेढ महिनाअघि नै मतदानका लागि मिति घोषणा गरिसकेको छ ।

सो अवसरमा मन्त्री ज्ञवालीले निर्वाचन पर्यवेक्षणमा आउने सार्क राष्ट्रसहित अन्य राष्ट्र र अन्तरराष्ट्रिय सङ्घसंस्थाका पर्यवेक्षकसँग सम्पर्क अधिकृतका रुपमा खटिने परराष्ट्र सेवाका कर्मचारी खटनपटन, समन्वय र सहयोग हुने प्रतिबद्धता जनाए।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका लागि भइरहेका व्यवस्थापकीय कार्यका बारे जानकारी गराउँदै निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न गराउन आयोग प्रतिबद्ध छ भने । उनले भने, “निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयताका लागि अन्तरराष्ट्रिय मान्यतासमेत आवश्यक रहेकाले उपयुक्त वातावरण तयार गर्न परराष्ट्र मन्त्रालयसँग सहयोग, समन्वय हुन आवश्यक छ ।”

छलफलमा निर्वाचनको अनुगमन तथा पर्यवेक्षण गर्न आयोगबाट तर्जुमा गरिने कार्यविधिका सैद्धान्तिक एवं व्यावहारिक पक्षमा समेत छलफल भएको आयोगले जनाएको छ ।