२९ माघ, लमजुङ / भूकम्पले पूर्ण क्षति बनाएको छ वर्षपछि यहाँ बल्ल गुम्बा पुनःनिर्माण हुन थालेको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षति बनाएको लमजुङको गुम्बामध्ये एक गुम्बाको केही दिनअघिबाट निर्माण थालनी भएको हो ।
जिल्लामा छ वटा गुम्बा पूर्ण क्षति भए पनि चालु आवमा सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित समुता गुम्बाको पुनःनिर्माण शुरु भएको हो । उक्त गुम्बाको जग हाल्ने र १८ पिलर उठाउने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङका इञ्जिनीयर शैलेन्द्र चौधरीले बताए । उनका अनुसार रु ८१ लाख ४२ हजार ८९९।५४ मा सो गुम्बाको निर्माण सम्पन्न हुनेछ । सत्तरी प्रतिशत राष्ट्रिय पुनःनिर्माण र ३० प्रतिशत रकम उपभोक्ता समितिको लगानी हुने एकाइका इञ्जिनीयर चौधरीको भनाइ छ ।
त्यस्तै पुनःनिर्माण हुन बाँकी दोर्दी गाउँपालिका–७ का धेछेन ख्यालुङ बौद्ध, दूधपोखरी गाउँपालिका–४ का सुबछिङ गुम्बा, राइनास नगरपालिका–७ को धुछेन सिंह गुम्बा, मध्यनेपाल नगरपालिका–५ का बुद्धसेवा स्मृति र क्व्होलासोथर गाउँपालिका–९ का सौवछिरिङ गुम्बा रहेका छन् । त्यस्तै भूकम्पले क्षति पु¥याएको आठ गुम्बामध्ये गत आवमा छवटा गुम्बाको मर्मत भएको थियो । अझै दुई गुम्बाको मर्मत काम बाँकी रहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
कार्यालयका अनुसार मर्मत हुन बाँकी क्व्होलासोथर गाउँपालिका–६ पसगाउँका कर्मा थुक्जे गुम्बा र सुन्दरबजार नगरपालिका–९ का कर्मा सौपिर गुम्बा रहेको छ । विनियोजित रकम कम भएको, वर्षायामका बेला सडक खराब भएकाले मर्मत गर्न नसकेको बताइएको छ । उक्त निर्माणाधीन गुम्बा आगामी असारसम्म निर्माण सक्ने लक्ष्यका साथ काम अघि बढिरहेको समुता गुम्बा निर्माण उपभोक्ता समितिका सचिव बिरसिङ घलेले बताए । उनका अनुसार गुम्बाको एक रोपनी जग्गा रहेकामा सात आनामा गुम्बा निर्माण भइरहेको छ । यस गुम्बा विसं २०४५ मा निर्माण भएको थियो । उक्त समयमा गएको भूकम्पले पूर्ण क्षति बनाएपछि यतिका समयसम्म पुनःनिर्माणको पर्खाइमा रहेको थियो ।
भूकम्पले जिल्लाका आठवटा गुम्बामा आंशिक क्षति र छ वटामा पूर्ण क्षति भएको थियो । यसमध्ये अझै दुईवटा गुम्बा मर्मत र पाँचवटा गुम्बा पुनःनिर्माण गर्न बाँकी रहे पनि चालू आवमा मर्मत तथा निर्माण नहुने एकाइले जनाएको छ ।
एक घर एक धारा बन्दै
गण्डकी प्रदेश सरकारको एक घर एक धारा अभियान साकार बनाउनका लागि यहाँ एक घर एक धारा जडान कार्य तीव्र बनाइएको छ । पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिकास्थित वडा नं ४ का १०२ घरमा धारा निर्माण भइरहेको छ ।
यहाँका ५५० घरधुरी रहेकामा ४४८ घरमा यसअघि नै धारा निर्माण भइसकेको र सो निर्माणाधीन धारा आगामी चैतसम्म सम्पन्न हुने वडाध्यक्ष सुमन गुरुङले बताए । उनका अनुसार हालसम्म उक्त सङ्ख्यालाई पुग्ने गरी खानेपानी ट्याङ्की निर्माण, घरघरमा धारा बनाउने काम सम्पन्न भइसकेको छ । यतिबेला घरघरमा मिटर जडान, पाइप विच्छ्याउने कार्य भइरहेको छ । गण्डकी प्रदेश सरकारको रु १७ लाख बजेटमा धारा निर्माण कार्य भइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ । धारा निर्माण भएसँगै उक्त घरपरिवार लाभान्वित हुने भएका छन् । उनले भने, “हाम्रो वडामा खानेपानीको समस्या रहँदै आएको थियो तर यतिबेला नागरिकको घरघरमा खानेपानीसहित धारा जडान कार्य तीव्र बनाएका छौँ, साथै यसअघि नै उक्त घरहरुमा धारा निर्माण भइसकेकाले यस वडामा पानीको समस्या कम हुँदै गएको छ ।
जनप्रतिनिधि चयन भएको लामो समय भए पनि वडाको समस्यालाई पहिचान गरी वडामा एक घर एक धारा अभियान सञ्चालन गरी निर्माण गरेको उनको भनाइ छ । आगामी चैतभित्र औपचारिक उद्घाटन गर्ने वडाध्यक्ष गुरुङको भनाइ छ । सार्वजनिक धारामा पालो कुरेर पानी भर्नुपर्ने स्थानीयवासीको बाध्यता पूर्णरूपमा वडाका सबै स्थानीयवासीले आगामी चैतबाट मुक्त हुने भएको छ । यस वडामा स्यागे, मिप्रा, गोरसालडाँडा, पुरानो जङ्गत र नासकुचेगाउँ गरी ५५० घरधुरीका स्थानीयवासीको घरघरमा खानेपानी पुग्नेछ ।