समाचार

राष्ट्रपति र उप-राष्ट्रपतिले दिए सोनाम ल्होसारको सुभकामना

३० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएका छन् । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारेका हुन् ।

सन्देशमा राष्ट्रपतिले भने, “यस्ता पर्वले हाम्रा मौलिक संस्कृति प्रवद्र्धन गर्न, सामुदायिक ऐक्यबद्धता एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।”

चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ ।

यस पर्व तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशलगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ ।

राष्ट्रपतिले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको पालन र रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन् ।

तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार २८५७ र शेर्पा तथा हिमाली आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष ग्याल्वो ल्होसार-२१४८ आइपुगेको उनले उल्लेख गरेका छन् ।

उपराष्ट्रपतिले मुसा वर्गको बिदाइ र गाई/गोरु वर्गको स्वागत गरी मनाइने सोनाम ल्होसार र ग्याल्बो ल्होसारबाट संविधानको रक्षा र पालन गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

सोनाम ल्होसार र ग्याल्बो ल्होसारका अवसरमा देशविदेशमा रहेका तामाङ, शेर्पा, हिमाली आदिवासी दिदीबहिनी तथा दाजुभाई र आम नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धिको कामना गर्दै उपराष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्पष्ट पारेका छन् ।

हिमाल, पहाड, तराई–मधेशको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व हाम्रो गौरव भएको उनको भनाइ छ ।

सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका हाम्रा धार्मिक एवं सांस्कृतिक चाडपर्वको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको उपराष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् ।

काठमाडौँ उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेषभुषासहितको पहिचान छ ।

उपराष्ट्रपतिले सन्देशमा भन्छन्, “तामाङ सेलो गीत, टुङ्ना र डम्फुको सङ्गीत आज नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको छ । हिमाली भेग आदिम थलो भएका शेर्पा समुदाय भाषा, धर्म, संस्कृति, पम्परा तथा सभ्यतामा धनी समुदाय हो ।”

हिमाल आरोहण तथा पर्यटनका माध्यामबाट विश्वमा नेपाललाई परिचित गराउने पहिलो शक्ति शेर्पा समुदाय रहेको र हिमालले नेपाललाई जति सुन्दर बनाएका छन्, हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायलगायतका आदिवासी जनजातिका वेषभूषा, भाषा, धर्म संस्कृति, रहनसहनले त्योभन्दा बढी सुन्दर बनाएको उपराष्ट्रपतिको भनाइ छ ।

नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा योगदान पुर्याउनुका साथै सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा उपराष्ट्रपतिले गरेका छन् ।