आर्थिक

मिर्चैयाका ११ होटल तथा रेष्टुरेन्टमा स्तरोन्नतिको स्टिकर टाँस

लहान, ३० माघ । सिरहाको मिर्चैया नगरपालिका क्षेत्रका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजले मिर्चैयाका ११ होटल तथा रेष्टुरेन्टलाई खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरेको हो ।

मिर्चैया नगरपालिकाका उपप्रमुख जिवछीदेवी साहको नेतृत्वमा मिर्चैयास्थित ११ होटल तथा रेष्टुरेन्टको अनुगमनपश्चात स्तरीकरणको स्टिकर टाँस गरेको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिएका छन् ।

अनुगमनका क्रममा एउटा होटललाई उत्तम वर्ग (ख) वर्गको स्टिकर टाँस गरिएको छ भने नौ होटल तथा रेष्टुरेन्टलाई सन्तोषजन वर्ग (ग) र एउटा होटललाई सामान्य वर्ग (घ) वर्गको स्टिकर टाँस गरेको प्रमुख सिंहले बताए । ती होटल र रेष्टुरेन्टका सञ्चालकलाई यसअघि खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालिमसमेत दिएको थियो ।

सोहीअनुसार होटल तथा रेष्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे/नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिएको प्रमुख सिंहको भनाइ छ । खाद्य स्वच्छता, सरसफाइ, भान्साघर, फोहरमैला व्यवस्थापनलगायतका विषयको स्थलगत अनुगमनपश्चात तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्दै प्रमाणपत्रसमेत उपलब्ध गराएको प्रमुख सिंहले बताए ।

विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकामा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुरेन्टलाई अतिउत्तम (क) तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणी (ख), ६५ देखि ७९ अङ्कसम्म ल्याउनेलाई सन्तोषजनक ९ग० र ५० देखि ६४ अङ्क ल्याउनेलाई समान्य वर्ग (घ) गरी वर्गीकरण गरेर सोहीअनुसार होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसिएको छ ।

सामान्य स्टिकर पाएका होटल र रेष्टुरेन्टले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको प्रमुख सिंहले बताए। अनुगमन तथा स्तरोन्नति टोलीमा होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामकुमार गुप्ता, मिर्चैया उद्योग वाणिज्य सङ्घका सचिव भरत महासेठ, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्तालगायतको सहभागिता थियो ।

मिस्टर एण्ड मिस सिरहा २०२१ को ताज चिराग र बन्जितालाई

मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ मा मिस्टर सिरहाको उपाधि चिराग शर्मा र मिस सिरहा उपाधि बन्जिता यादवले हात पारेका छन् । यस्तै लिटल मिस्टर सिरहा सारंस साह भएका छन् । सिरहाको लहानस्थित पशुपति सिनेमा हलमा सम्पन्न मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फाइनलमा आफ्ना १० प्रतिद्वन्द्वीलाई पछि पार्दै शर्माले मिस्टर सिरहाको उपाधि प्राप्त गर्दा बन्जिताले आफ्ना छ प्रतिद्वन्द्वीलाई पछि पारेर मिस सिरहाको ताज चुम्न सफल भएका हुन् ।

पी प्रोडक्शन नेपाल प्रालिको आयोजनामा सञ्चालन भएको “मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फाइनलमा सात युवती र ११ युवा गरी १८ प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । मिस सिरहाको उपाधि जितेकी बन्जितालाई मिस ग्रान्ड नेपाल-२०१९ निशा पाठकले र मिस्टर सिरहा चिरागलाई कोरियोग्राफर प्रशान्त साहले ताज लगाए । सो अवसरमा मिस र मिस्टर सिरहालाई  १५/१५ हजार नगद, मोडिलिङ एग्रिमेन्ट, म्युजिक भिडियो गर्ने मौका, विभिन्न तालिमको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फस्ट रनरअप रोमन परियार र रितिका शर्मा भएका छन् भने सेकेन्ड रनरअप दीपक रोय र पूर्णिमा यादव, मिस्टर टेन शुसान्त साह, भिउवर च्वाइस रीतिका शर्मा, अर्गनाइजर च्वाइस विनर जिवछ पासवान भएको आयोजकले जनाएको छ ।