समाचार

भूमिसम्बन्धी आयोगका पदाधिकारीद्वारा पदभार ग्रहण

३ फागुन, डोटी । भूमिसम्बन्धी समस्या समाधान आयोग डोटीका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । आयोगका अध्यक्ष गणेशबहादुर विष्ट, बिज्ञ झलकबहादुर पाली तथा सदस्य देशरत्न डागीले पदभार गर्नु ग्रहण भएको हो। अध्यक्ष विष्टले भूमिसम्बन्धी समस्या समाधानका लागि आफुहरुको प्रमुख दायित्व भएको बताए । उनले भने, “भुमि सम्बन्धि लामो समयदेखिको समस्या समाधानमा हामी केन्द्रित हुने छौँ, सबैको साथ र सहयोग आवश्यक हुने छ ।”
यसैगरी उक्त आयोगका बिज्ञ तथा पत्रकार पालीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास नागरिकलाई व्यवस्थित गर्ने उद्देश्यका आयोग गठन गरिएको आफुहरु सोही अनुसारको काममा बढी खटिने जानकारी दिए ।

केआइसिंहमा पुग्यो बस

केआइसिंह गाउँपालिका वाइलमा पहिलो पटक बस सेवा पुगेको छ । गाउँपालिका केन्द्र वाइलमा पहिलो पटक चारवटा यात्रुबाहक बस पुग्दा स्थानीयवासीले खुशी साटासाट गरी रमाइलो मनाएका छन् ।

जिल्ला सदरमुकाम सिलगढीबाट कम्तीमा पनि २२ किलोमिटर मात्रै टाढाको दूरीमा रहेको उक्त ठाउँमा अहिलेसम्म पनि ठूलो गाडी पुगेको थिएन । सुदूरपश्चिम बस व्यवसायी समिति तथा शेलेश्वरी यातायात प्रालीले पहिलो पटक सार्वजनिक बस पु¥याएपछि स्थानीयवासीले चालकलाई खाँदा र अबीर माला लगाई बाजागाजासहित स्वागत गरेका थिए ।

गाउँपालिका केन्द्रसम्म बस पुगेपछि अब यात्रा गर्नका लागि सहज हुने भन्दै स्थानीयवासीमा खुशीयाली छाएको छ । यसभन्दा पहिले उक्त क्षेत्रमा साना बोलेरो जीप मात्रै सञ्चालन हुँदै आएको थियो । बस पुगेसँगै यहाँका स्थानीयवासीले आपसमा नाचगान गरेर स्थानीय बासिन्दाले खुशीयाली मनाएको केआइसिंह गाउँपालिका दूल्लुका स्थानीयवासी शेरबहादुर ऐरले जानकारी दिए ।

उनले भने,“लामो समयपछि हाम्रो गाउँपालिकामा बस पुगेको छ, यो भन्दा ठूलो खुशी अरु के हुनसक्छ र ?” पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको राजपुर बजारदेखि केआइसिंह गाउँपालिकाको बगरसम्म सडक कालोपत्र भएसँगै नागरिकको सहजताका लागि अहिले पालिकाको केन्द्र वायलसम्म बस सञ्चालन गरिएको शैलेश्वरीयातायात प्रालीका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताए ।

उनले भने, “अहिले केही ठाउँमा कालोपत्र पनि भएको र त्यहाँका नागरिकले बस सञ्चालनका लागि आग्रह गरेपछि उनहरुको सहजताका लागि हामीले बस सञ्चालन गरेका छौँ, सबै खुशी भएका छन् ।” वाइलबाट अब दैनिक बस सञ्चालनको तयारी भइरहेको कार्यालय प्रमुख रावलले जानकारी दिए ।

पहिलो पटक गाउँमा बस लिएर आएका शैलेश्वरी यातायात प्रालीका चालकलाई खुशी लागेपछि आफूहरूले गाडीका चालकलाई खाँदा र अबीर लगाई स्वागत गर्दै नाचगान गरेको केआइसिंह गाउँपालिकाका अर्का स्थानीयवासी लक्ष्मण पाण्डेयले बताए ।उनले भने, “कहिले बस आउला र चढौला भनेर आस गरेर बसेका थियौँ, शैलेश्वरी यातायातका चालकले बस ल्याएपछि हामी खुशी भएर स्वागत गरेका हौँ ।” शहरबाट गाउँ र गाउँबाट शहर बजार हिँड्ने बेलामा कठिनाइ भइरहेको अवस्थामा पहिलो पटक गाउँमा नै गाडी पुगेकोमा यहाँका बासिन्दा अत्यन्त खुशी भएका छन् ।

उनीहरुले अब यहाँबाट नियमित बस सञ्चालन गर्न मागसमेत माग गरेका छन् । यहाँका नागरिकले विगतको समयमा सडक सुविधा भए पनि खासै गाडी नचल्ने गरेका कारण सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर र पिपल्ला बजारसम्म पुग्नको लागि पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको थियो । अहिले यात्रुबाहक बस नै पुगेपछि उनीहरुले सधैँ बस सञ्चालन हुने वातावरण मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

केआइसिंह गाउँपालिकाबाट नियमित बस सञ्चालनका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए। उनले भने, “पहिलो पटक हाम्रो गाउँपालिकामा बससेवा पुगेको छ, यसको निरन्तरताका लागि गाउँपालिकाबाट पहल गर्ने छौँ ।” नियमित बस सेवा सञ्चालनका लागि गाउँपालिका केन्द्र वाइलमा टिकट काउण्टरको व्यवस्थाका लागि प्रयास भइरहेको शैलेश्वरी यातायात प्रालीका अध्यक्ष गणेश मलासीले बताए । उनले भने, “सबैको पहलमा बस सेवा दिन सुचारु गरेका छौँ, टिकट काउण्टरदेपखि अन्य व्यवस्थापनका लागि पहल भइरहेको छ, अब नियमित बससेवा दिने प्रयासमा छौँ ।” यात्रुहरुको माग तथा चापको आधारमा उक्त क्षेत्रमा थप बसको बेवस्था पनि गरिने अध्यक्ष मलासीले जानकारी दिए।