समाचार

महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने

४ फागुन, काठमाडौँ / गौचरनको रूपमा परिणत भएको कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । सो विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो ।
सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको रोहवरमा विमानस्थल विस्तार तथा विकाससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमख सुरेन्द्र विष्ट तथा दोधराचाँदनी नगरपालिकाका प्रतिनिधि वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र बहेकको उपस्थिति थियो ।
सम्झौतापत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्ट र दोधराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरी आदनप्रदान गरेका थिए ।
सो अवसरमा पर्यटन मन्त्री ढकालले महेन्द्रनगर विमानस्थलको विस्तार र विकासमा तीन तहका सरकारको साझेदारी सबैका लागि खुशीको विषय भएको बताए । उनले विमानस्थल विकासको सम्झौताको भावनाबमोजिम सम्बन्धित निकायले जिम्मेवारीपूर्वक प्रभावकारी कार्यान्वयनमा लैजान आग्रह गर्दै त्यस क्रममा कुनै समस्या आइपरेमा सङ्घीय सरकारले सहजीकरण गर्ने स्पष्ट पारे ।
मन्त्री ढकालले भने, “विगतमा पनि पवित्र उद्देश्यले लागेका अभियानमा कहिले मुआब्जा बढाउने तथा विभिन्न बहानामा बखेडा झिकेर आयोजनालाई नै प्रभावित पार्ने प्रवृत्ति रहेको भन्दै विमानस्थल विकास र विस्तारमा गलत दृष्टिकोण नपरोस् भन्नेतर्फ सजक रहनुस् ।”
पर्यटन मन्त्रीले पछिल्लो समय विमानस्थल बनाउने होडबाजी चलेको र खासगरी निर्वाचनका बेला यस्ता एजेण्डा अगाडि बढाउने गरिएको प्रशङ्ग उल्लेख गर्दै आवश्यकता र औचित्यताका आधारमा विमानस्थल बनाउने सरकारको नीतिअनुरुप महेन्द्रनगर विमानस्थल सम्भावना बोकेको प्राथमिकतायुक्त आयोजना भएको बताए । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले क्षेत्रीय उडान, धार्मिक पर्यटन प्रवद्र्धनका हिसाबले महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तव्य भएकाले तीन तहका सरकारको साझेदारीमा विमानस्थलको विकास र विस्तारको कामलाई अघि बढाइने बताए ।
क्यानका महानिर्देशक पोखरेलले अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुरुप पूर्वको भद्रपुरदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको विमानस्थलको विस्तार तथा विकासका लागि गुरुयोजना तयार भइसकेको र महेन्द्रनगर विमानस्थल सोही योजना अन्तर्गत विकास गरिने जानकारी दिए ।