समाचार

राजनीतिक संस्कार हरायोः प्रजातन्त्र सेनानी सुवेदी

५ फागुन, गण्डकी / “प्रजातन्त्र दिवस हामीले जुन उत्साहका साथ मनाउँथ्यौँ, त्यो अहिले छैन, प्रजातन्त्रका नाममा छाडातन्त्र आयो”, यो भनाइ प्रजातन्त्र सेनानी हीरामणि सुवेदीको हो । उमेरले ८६ वर्ष पुग्नुभएका कास्कीको पोखरा महानगरपालिका–२७ लेखनाथ चोक निवासी सुवेदी नेपाली राजनीतिमा देखिएको एकले अर्काको अस्तित्व नस्वीकार्ने प्रवृत्तिप्रति निकै चिन्तित छन् । सबैभन्दा म नै जान्ने छु, मलाई सबैले मान्नुपर्छ भन्ने अहम्वादले समग्र राजनीति प्रभावित भएको उनले बताए । “राजनीतिमा इमान हरायो”, उनले भने, “२००७ सालमा प्रजातन्त्र आएपछि विपीले सुवर्णलाई प्रधानमन्त्री तपाईं हुनुपर्छ भन्दा सुवर्णले हैन तपाईं नै हुनुपर्छ भने ।” उक्त आन्दोलनमा लगानी पनि सुवर्णको बढी रहेको बताउँदै सुवेदीले विपीलाई नै प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको स्मरण गरे । उक्त क्रममा विपीले प्रधानमन्त्रीका लागि गणेशमान सिंहलाई आग्रह गर्दा सिंहले पनि विपीलाई नै राज्यको नेतृत्व लिन आग्रह गरेको सुवेदीको भनाइ छ ।
विसं २०१५ मा दुई÷दुई निर्वाचन क्षेत्र हारेका कृष्णप्रसाद भट्टराईलाई उनको आवश्यकता देशका लागि छ भन्ने ठानेर सभामुख बनाइएको प्रसङ्ग उल्लेख गर्दै सुवेदीले अहिले मनोनीत गर्दा योगदान, देशको आवश्यकताभन्दा पनि परिवारका सदस्यलाई गर्ने गरिएको बताए । विसं २००९ मा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुवर्णशम्शेरका हातबाट पार्टीको सदस्यता लिएका सुवेदी त्यसयता प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा सक्रिय बन्दै आएका छन् । राजनीतिक जीवन निकै उतारचढावमा बिताएका सुवेदी २००७ सालमा नै १५ वर्षका उमेरमा कांग्रेसका नेता कार्यकर्तालाई बास दिएको आरोपमा आमासहित थुनामा परेका थिए । थुनामा परे पनि आमा महिला र आफू नाबालक भएकाले दुई दिनपछि हप्कीदप्कीसहित तारेकमा थुनामुक्त बनेका उनले सुनाए ।
आफूले राजनीतिक जीवनमा अनेकौँ हण्डर र ठक्कर व्यहोर्नु परेको बताउँदै उनले भने, “राजनीतिमा लाग्नुका पछाडि मेरा खास केही मान्यता र दर्शन थिए । जनताको जीवनस्तर उकास्ने, गरिबगुरुवालाई न्याय गर्ने, विधिको शासन चलाउने र देशको चौतर्फी विकास गर्ने उच्च अभिलाषा बोकेर राजनीतिमा लागेको थिएँ ।”
विसं २०१३ को भद्र अवज्ञा आन्दोलनदेखि २०६२९६३ सालको लोकतान्त्रिक आन्दोलनसम्म हरेक राजनीतिक अभियान र आन्दोलनको अग्रमोर्चामा रहेका सुवेदीले राजनीतिक प्रतिशोधका कारण तत्कालीन राज्य प्रशासनबाट कहिले तार चोरेको अभियोग, कहिले पुल भत्काएको आरोप त कहिले विजयपुरको बाँध भत्काएको दोष व्यहोनुपरेको थियो । “यी आरोप मात्र नभई विपीको फोटो सिरानतिर राजाको फोटो किन गोडामुनि भन्नेसम्मका प्रश्न तत्कालीन प्रशासनले सोधेर दुःख र हैरानी दिने गरेको थियो”, उनले अनुभव सुनाए ।
लाभको पद नलिई खट्ने धेरै कार्यकर्ताको त्याग र बलिदानले राज्यमा ठूलाठूला परिवर्तन आए पनि राजनीतिक संस्कार हराउँदै जाँदा भएका उपलब्धि पनि गुम्ने खतरा दिनानुदिन बढिरहेको प्रति उनी चिन्तित छन् । विसं २०१५ मा पार्टीको महाधिवेशन प्रतिनिधि बनेका उनलाई २०१७ सालमा तत्कालीन पञ्चायती सरकारले अराष्ट्रिय तत्व भन्दै लेखनाथ चोकबाट गिरफ्तार गरी जेल हालेको थियो । विसं २०४२ मा कांग्रेसको पार्टीको केन्द्रीय सल्लाहकार बनेका सुवेदीले २०३३ बाट २०५३ सम्म पार्टीको जिल्ला कार्यसमितिमा रही काम गरेका थिए । यस बीचमा २०४८ बाट २०५३ सम्म पार्टीको जिल्ला उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष भई जिम्मेवारी निभाएका थिए । विसं २०६९ मा प्रजातन्त्र सेनानी घोषणा भएका उनी २०६० मा पार्टीको महासमिति सदस्य बने । नेपाल किसान सङ्घ कास्कीमा २०६० देखि २०६९ सालसम्म जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।
राजनीतिक क्षेत्रका साथै सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील सुवेदी लक्ष्मी मावि अर्घौं ९२०१३० र लक्ष्मी आदर्श मावि शिशुवा ९२०२५० को संस्थापक छने । उनी नेपाल रेडक्रस सोसाइटी, लेनपा–२ उपशाखाको पनि संस्थापक छन् । उनले लेखनाथ रेडक्रस खानेपानी निर्माण योजना उपभोक्ता समिति, विजयपुर नहर निर्माण योजना उपभोक्ता समिति, लेखनाथ रेडक्रस पुस्तकालयजस्ता विभिन्न संस्थाको नेतृत्व सम्हालि सकेका छन् । साहित्यिक लेखरचनामा पनि उत्तिकै क्रियाशील सुवेदीले अनुभव मञ्जरी, कर्तव्यबोध, सम्झनाको सेरोफेरो जस्ता कविता सङ्ग्रह प्रकाशन गरिसकेका छन् । समसामयिक विषयलाई साहित्यिक रचनाका माध्यमबाट उजागर गर्ने सुवेदीले कर्तव्यबोध नामक कविता सङ्ग्रहको ‘प्राध्यापकहरूमा अपिल’ शीर्षकको कवितामा देशको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भनेका छन्, “छताछुल्ल भएको छ राजनीति विसङ्गति । सत्ताका होडबाजीले राष्ट्र नै गुमिदिन्छ कि ।”
सामाजिक तथा राजनीतिक क्षेत्रमा जीवनको अधिकांश समय खर्चेका सुवेदीको गत वर्ष लेखनाथमा नागरिक अभिनन्दनसमेत गरिएको थियो । उक्त अभिनन्दनका समयमा प्रकाशित पुस्तकमा विभिन्न राजनीतिक एवम् सामाजिक व्यक्तित्वले उनका जीवनका विभिन्न पक्षबारे चर्चा गरेका छन् ।