काठमाडौँ, ७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय समाचार समिति (रासस)जस्ता जिम्मेवार समाचार संस्थाले सत्यतथ्य, विश्वसनीय समाचार एवं सूचना समयमै प्रस्तुत गरी आफ्नो दायित्व निर्वाह गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।
रासस स्थापनाको ६० औँ वर्ष प्रवेश गरेकामा यसका व्यवस्थापन, कर्मचारी, पत्रकार, सेवाग्राही र आम पाठकप्रति शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले आफ्नो सेवालाई झन् गुणस्तरीय, प्रभावकारी र व्यापक बनाई बढीभन्दा बढीलाई लाभान्वित गराउन रासस सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।
समयसमयमा कतिपय सञ्चारमाध्यमका समाचार आग्रहपूर्वाग्रहका साथ प्रस्तुत हुने गरेको, स्रोत नै उल्लेख नगरी विश्वसनीय हुन नसकेको र समाजमा भ्रम फैलिने गरी सम्प्रेषण हुने गरेको गुनासो आइरहेका सन्दर्भमा आउँदा दिनमा पनि राससको भूमिका, दायित्व एवं औचित्य अझै बढेको स्पष्ट गर्दै सरकारका प्रवक्ता गुरुङले सञ्चारका माध्यमबाट राससले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
“छ दशकदेखि राज्यको एक मात्र समाचार समितिका रुपमा अविच्छिन्न सेवारत रही सञ्चारमाध्यमका लागि समाचार सम्प्रेषण गर्दै आएको राससले सेतुको भूमिका निर्वाह गरी राज्यको सूचना तथा नीतिनियम जनतासमक्ष पुर्याउने र जनताका भावना, गुनासा एवं समस्या सम्बन्धित निकायमा पुर्याई नीतिनिर्माण गर्नमा पुर्याएको योगदान अविस्मरणीय छ”, शुभकामना सन्देशमा भनिएको छ ।
राससले निकट भविष्यमा नै श्रव्य दृश्य सेवा सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गर्दै उनले सोसम्बन्धी सामग्रीबाट देशभर सञ्चालित टेलिभिजनहरू लाभान्वित हुने तथा करीब एक दशकदेखि सञ्चालित राससको श्रव्य सेवालाई पनि अझै सुदृढ गरी थप प्रभावकारी बनाइने विश्वास जनाएका छन् ।
राससले आफूलाई प्रदेश संरचनामा पूर्ण रुपमा ढाली प्रदेश र स्थानीय तहका गतिविधिलाई व्यापक रुपमा प्रचारप्रसार गर्न छिट्टै प्रदेशस्तरबाट नै आफ्ना सेवा सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै सञ्चारमन्त्री आफ्नो सञ्जाललाई व्यापक बनाउन मुलुकका ७७ जिल्लामा जिल्लास्तरका तथा ७५३ स्थानीय तहमा स्थानीयस्तरका समाचारदाताको व्यवस्थाका लागि रासस व्यवस्थापनको ध्यानाकर्षण गराएका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, “हीरक वर्षको विशेष अवसरमा वर्षभरि विभिन्न रचनात्मक क्रियाकलाप गरी सेवाग्राहीसँग अन्तक्र्रियात्मक हुँदै प्राप्त हुने पृष्ठपोषणबाट रासस सेवालाई थप प्रभावकारी तुल्याउन रासस सफल हुने विश्वास लिएको छु ।” राज्यको साझा संस्था राससको बहुआयामिक विकासका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । “छिमेकी देशहरु भारत र चीन तथा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेका अन्य एशियाली र खाडी मुलुक एवं अमेरिका, युरोप महादेशमा पनि आवासीय संवाददाताहरु नियुक्त गरी विश्वजगत्सँग राससले आफूलाई एकाकार गर्नुपर्नेछ”, शुभकामना सन्देशमा भनिएको छ ।
समाचारको मूल स्रोतका रुपमा रहेको राससले आफूलाई सूचना तथा समाचार बैंकका रुपमा स्थापित गरी अझ संस्थागत गर्नुपर्ने देखिएको उल्लेख गर्दै शुभकामना सन्देशमा भनिएको छ, “संस्था स्थापित भएदेखि नै संरक्षण भइआएका आफ्ना समाचार, आलेख एवम् श्रव्य र तस्वीरजस्ता समाचार सामग्री पनि ‘अर्काइभ’ मा राखी प्रयोगकर्ताहरुका लागि उपलब्ध गराउन म व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउँदछु ।”
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई यथार्थमा परिणत गर्न सञ्चार क्षेत्रबाट पनि रचनात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सञ्चारमन्त्रीले वर्तमान सरकार प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई संरक्षण, प्रवद्र्धन र कार्यान्वयनका लागि आवश्यक कानून, नीति र संरचना बनाउँदै प्रेससम्बन्धी कानूनहरुलाई सुदृढ, सबल र व्यवस्थित बनाउन क्रियाशील रहेको जनाएका छन् । सन्देशमा भनिएको छ, “सरकार संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कुनै मनसाय नराखी स्वच्छ र तर्कयुक्त आलोचनाहरुलाई आत्मसात् गरेर अघि बढिरहेको सर्वविदितै छ ।”
साठी वर्षको आफ्नो यात्राको समीक्षा गरी आगामी लक्ष्य समेटेर स्पष्ट कार्ययोजना तयार गर्न तथा समयसापेक्ष ऐन, कानून परिमार्जन गर्न राससलाई सुझाव दिँदै सञ्चारमन्त्री गुरुङले सेवाग्राही सङ्ख्यामा उल्लेख्य वृद्धि गरी अचल सम्पत्तिको अधिकतम उपयोग तथा आम्दानीका अन्य स्रोत पहिल्याएर आफूलाई आत्मनिर्भर बनाउन व्यवस्थापनसमक्ष आग्रह गरेका छन्।
रासस हीरक वर्ष प्रवेशका अवसरमा सञ्चारमन्त्रीले दिएको शुभकामना सन्देशको पूर्णपाठ
राज्यको जेठो र एकमात्र आधिकारिक समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) आफ्नो स्थापनाको ६०औँ वर्ष प्रवेश गरेकामा म नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवम् मेरो व्यक्तिगत तर्फबाट रासस व्यवस्थापन, कर्मचारी एवम् पत्रकार, सेवाग्राही र आम पाठकप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।
६ दशकदेखि राज्यको एक मात्र समाचार समितिका रुपमा अविच्छिन्न सेवारत रही सञ्चारमाध्यमहरुका लागि समाचार सम्प्रेषण गर्दै आएको राससले सेतुको भूमिका निर्वाह गरी राज्यको सूचना तथा नीति नियम जनतासमक्ष पुर्याउने र जनताका भावना, गुनासा एवम् समस्या सम्बन्धित निकायमा पु¥याई नीति निर्माण गर्नमा पुर्याको योगदान अविस्मरणीय छ ।
यस सन्दर्भमा आउँदा दिनहरूमा पनि यसको भूमिका, दायित्व एवम् औचित्य अझै बढेको स्पष्ट नै छ । समयसमयमा कतिपय सञ्चारमाध्यमका समाचारहरू आग्रह पूर्वाग्रहका साथ प्रस्तुत हुने गरेको, स्रोत नै उल्लेख नगरी विश्वसनीय हुन नसकेको र समाजमा भ्रम फैलिने गरी सम्प्रेषण हुने गरेको गुनासो आइरहेका सन्दर्भमा राससजस्ता जिम्मेवार समाचार संस्थाले समाजमा रहेका त्यस्ता भ्रम चिर्न तथा सत्यतथ्य, विश्वसनीय समाचार एवम् सूचना समयमै प्रस्तुत गरी समाज र राज्यप्रतिको आफ्नो दायित्व निर्वाह गर्न आवश्यक देखिन्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई यथार्थमा परिणत गर्न सञ्चार क्षेत्रबाट पनि रचनात्मक सहयोग पुग्नेछ भन्नेमा म विश्वस्त छु ।
नेपालको संविधानले प्रेस जगत्लाई पूर्ण स्वतन्त्रताको प्रत्याभूति गरेको छ । वर्तमान सरकार उक्त प्रत्याभूतिलाई संरक्षण, प्रवद्र्धन र कार्यान्वयनका लागि आवश्यक कानून, नीति र संरचनाहरु बनाउँदै प्रेससम्बन्धी कानूनहरुलाई सुदृढ, सबल र व्यवस्थित बनाउन क्रियाशील रहेको अनुभूति सबैले गरिआएको स्पष्ट नै छ । सरकार संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कुनै मनसाय नराखी स्वच्छ र तर्कयुक्त आलोचनाहरुलाई आत्मसात् गरेर अघि बढिरहेको सर्वविदितै छ ।
राससले निकट भविष्यमा नै श्रव्यदृश्य सेवा सञ्चालन गर्न लागेकामा म अति नै हर्षित छु । सोसम्बन्धी सामग्रीबाट देशभर सञ्चालित टेलिभिजनहरू लाभान्वित हुने विश्वास मैले लिएको छु । करीब एक दशकदेखि सञ्चालित राससको श्रव्यसेवालाई पनि अझै सुदृढ गरी यसको सेवालाई थप प्रभावकारी बनाइने आशा राखेको छु । राससले आफूलाई प्रदेश संरचनामा पूर्ण रुपमा ढाली प्रदेश र स्थानीय तहका गतिविधिलाई व्यापक रुपमा प्रचारप्रसार गर्न छिट्टै प्रदेशस्तरबाट नै आफ्ना सेवाहरु सम्प्रेषण गर्नुपर्ने आवश्यकता देखिन्छ । आफ्नो सञ्जाललाई व्यापक बनाउन मुलुकका ७७ जिल्लामा जिल्लास्तरका तथा ७५३ स्थानीय तहमा स्थानीयस्तरका समाचारदाताको व्यवस्थाका लागि रासस व्यवस्थापनको ध्यान जानेछ भन्ने पनि मैले विश्वास लिएको छु । साथै छिमेकी देशहरु भारत र चीन तथा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेका अन्य एशियाली र खाडी मुलुक एवं अमेरिका, युरोप महादेशमा पनि आवासीय संवाददाताहरु नियुक्त गरी विश्वजगत्सँग राससले आफुलाई एकाकार गर्नुपर्नेछ ।
समाचारको मूलस्रोतका रुपमा रहेको राससले आफूलाई सूचना तथा समाचार बैंकका रुपमा स्थापित गरी अझ संस्थागत गर्नुपर्ने देखिन्छ । संस्था स्थापित भएदेखि नै संरक्षण भइआएका आफ्ना समाचार, आलेख एवम् श्रव्य र तस्वीरजस्ता समाचार सामग्री पनि ‘आर्काइभ’ मा राखी प्रयोगकर्ताहरुका लागि उपलब्ध गराउन म व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउँदछु । साठी वर्ष ९विसं २०१८ देखि हालसम्म० को आफ्नो यात्राको समीक्षा गरी संस्थाले आगामी लक्ष्य समेटेर स्पष्ट कार्ययोजना तयार गर्न तथा समयसापेक्ष ऐन, कानून परिमार्जन गर्नु आवश्यक देखिन्छ । सेवाग्राही सङ्ख्यामा उल्लेख्य वृद्धि गरी अचल सम्पत्तिको अधिकतम उपयोग गर्नाका साथै आम्दानीका अन्य स्रोत पनि पहिल्याएर आफूलाई आत्मनिर्भर बनाउन म व्यवस्थापनसमक्ष आग्रह गर्दछु ।
राज्यको साझा यस समाचार समितिलाई अझ बलियो बनाई आफ्नो सेवालाई अझ गुणस्तरीय, प्रभावकारी, व्यापक बनाई यसका सेवाबाट बढीभन्दा बढी लाभान्वित गराउन पनि म सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछु । हीरक वर्षको विशेष अवसरमा वर्षभरि विभिन्न रचनात्मक क्रियाकलाप गरी सेवाग्राहीसँग अन्तरक्रियात्मक हुँदै प्राप्त हुने पृष्ठपोषणबाट रासस सेवालाई थप प्रभावकारी तुल्याउन रासस सफल हुने विश्वास लिएको छु । राससको बहुआयामिक विकासका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न पनि म प्रतिबद्धता व्यक्त गर्दछु । अन्त्यमा, “समृद्ध नेपालः सुुःखी नेपाली” मुलुुकको राष्ट्रिय संकल्प हो । सञ्चारको माध्यामबाट यसलाई पूरा गर्ने अभियानमा राससले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्दै यस संस्थाको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।