सुदूरपश्चिम

कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै मालिकार्जुन

१० फागुन, दार्चुला / मालिकार्जुन गाउँपालिकाले सरोकारवाला निकायका सहयोगमा कृषि र पशु क्षेत्रलाई प्रवद्र्धन गर्ने भएको छ । बेरोजगार युवालाई कृषि र पशुपालनमा आकर्षित गर्ने ध्येयले गाउँपालिकाले ती दुई क्षेत्रलाई थप विकास र विस्तार गर्न लागेको हो ।
कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न गाउँपालिकाले पहल समेत थालेको छ । कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पु¥याउनेसम्मका योजना अघि सारिएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।
मालिकार्जुनले यस वर्ष कृषि क्षेत्रका लागि मात्र सात लाख रुपैयाँ बजेट विनियोजन गरेको सो शाखा प्रमुख रमेशराज जोशीले जानकारी दिए । गत दुई वर्षमा कृषि पेशालाई यान्त्रीकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर युवाहरुलाई विभिन्न कृषि औजार वितरण गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।
कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेशामा आबद्ध गराउने खालका कार्यक्रम यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धाँमीले जानकारी दिए ।
कृषि गर्न चाहने युवालाई जीविकोपार्जन गर्ने खालका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष धाँमीका अनुसार नमूना फलफूल क्षेत्र विकास कार्यक्रमका लागि मालिकार्जुनको रु सात लाख, कृषि ज्ञानकेन्द्रको रु १० लाख तथा जनश्रमदान गरी २० लाखको लागत रहने गरी साझेदारी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।
यस कार्यक्रममार्फत गाउँपालिकाको वडा नं २ को न्वालपानी, वडा नं ३ को मलबाब, वडा नं ४ को गोठ्युडी, वडा नं ५ को हरडा तथा वडा नं ८ को कोटिला कोट क्षेत्रमा ओखरको बोट खरीद गरी कृषकलाई वितरण गरिने जनाइएको छ ।
स्थानीय निकाय र ज्ञान केन्द्रबीच साझेदारीपत्रमा हस्ताक्षर भएको केन्द्रका प्रमुख प्रकाशकुमार पन्तले जानकारी दिए । यस वर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ ।
परम्परागत तथा निर्वाहमुखी कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न लागि परेको अध्यक्ष धाँमीले बताए । गाउँपालिकाले यस वर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

आलुमा आत्मनिर्भर बनाइने

व्यास गाउँपालिकालाई आलुखेतीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई आलु उत्पादनमा अनुदान दिन थालेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन थालेको हो ।
आलुखेतीको विस्तारका लागि गाउँपालिकालाई आलु पकेट क्षेत्र घोषणा गरी काम थालेको छ । गाउँपालिकाले आलुखेती हुने पकेट क्षेत्र वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो ।
गाउँपालिकाले किसानलाई आवश्यकपर्ने आलुको बीउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराउने तयारी थालेको हो ।
आलु उत्पादनका दृष्टिले व्यासको उर्वर भूमि पनि हो । “निर्वाहका लागि गरिँदै आएको खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकतातर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेर काम थालेका छौँ । ” व्यास कृषि शाखा प्रमुख विशेश्वरप्रसाद बडुले भने ।
गाउँपालिकाले ११ वटा आलु पकेट क्षेत्रका किसानलाई २५ क्विन्टल आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरेको छ । आलु पकेट क्षेत्रभित्रका इच्छुक किसानले समूहमार्फत वा व्यक्तिगतरूपमा पनि आलुखेती गर्नसक्ने जनाएको छ ।
इच्छुक व्यक्ति वा समूहले वडाको सिफारिससहित आएको खण्डमा ५० प्रतिशत अनुदानमा बीउ प्राप्त गर्न सक्नेछन् । केन्द्रका प्राविधिक सहयोगमा आलु उत्पादन कार्यक्रमअन्तर्गत १२ कृषक समूह कृषि फर्मबाट पकेट क्षेत्र निर्माण हुने बताइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा व्यास गाउँपालिकाको वडा नं ५ मा रहेको जनभावना साना किसान कृषि सहकारीद्वारा २०० रोपनी क्षेत्रफलमा रु २४ लाख बराबरको आलुखेती निर्माण गर्ने योजना रहेको जनाइएको छ ।
आलु उत्पादन भएपछि सक्नेजति बिक्रीवितरण गर्ने र नसकेको गाउँपालिकाले बिक्रीवितरणको व्यवस्था मिलाइदिने भएकाले किसान उत्साहित भएर व्यावसायिकतातर्फ आकर्षित भएको गाउँपालिकाले जनाएको छ ।

किसानलाई निःशुल्क ओखरका बिरुवा

मार्मा गाउँपालिकामा ओखर उत्पादन बढाउने किसानलाई निःशुल्क ओखरका बिरुवा वितरण गरेको छ । ओखर उत्पादनको सम्भावना राम्रो रहेको किसानलाई स्थानीय जात र टर्की जातको ओखर निःशुल्क वितरण गरिएको हो ।
मार्माका ओखर उत्पादन हुने क्षेत्रलाई पकेट क्षेत्र बनाएर ओखर विस्तार गर्न लागिएको हो । गाउँपालिकाको सहयोगमा यस वर्ष एक हजार ३२० बोट टर्की जातको ओखरको बिरुवा किसानलाई वितरण गरिएको कृषि शाखा प्रमुख रवीन्द्र पन्तले जानकारी दिए ।
उनका अनुसार वडा नं ६ को परिवन छिपान, वडा नं ४ को बार्कु, मठखोला, वडा नं १ को तौलीमाण्डौँ दह, वडा नं २ को ओडीखेत, रस्कोट, लाम्बगड, वडा नं ३ को बजानीका लागि वितरण गरिएको छ ।
गाउँपालिकाले किसानको खेत बाँझो नराख्ने नीतिअनुरुप पकेट क्षेत्रमा ओखर लगाउन निःशुल्क बिरुवा वितरण गरेको छ । उनले भने, “आयआर्जनको राम्रो माध्यम हुने, फलफूल खेतीको राम्रो सम्भावना बोकेकै भएर प्राथमिकता साथ बिरुवा वितरण गरेका छौँ ।” गत वर्षदेखि ओखरका बिरुवा वितरण तथा लगाउने कार्य निरन्तर चलेको छ । गाउँपालिकाले एक घर पाँच फलफूलका बिरुवा रोप्ने अभियान चलाएर फलफूलका बिरुवा वितरण गर्ने गरेको छ । गत वर्ष वडा नं ५ मा ३०० र वडा नं ६ को ४०० घरधुरीमा फलफूलका बिरुवा लगाइएको थियो ।
यस वर्ष मार्माका वडा नं १ को ५६० घरधुरीमा फलफूलका बिरुवा लगाउने कृषि शाखाले जनाएको छ । गाउँपालिकालाई विस्तारै फलफूल ओखरमा आत्मनिर्भरउन्मुख बनाउने योजना रहेको बताइएको छ ।-