बाग्मती

धर्मादित्य जनजातिका पुराना मातृभाषी पत्रकार

११ फागुन, भादगाउँ / नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको सातौँ साधारणसभा आज सम्पन्न भएको छ । रफत सञ्चार क्लबको सभाहलमा सम्पन्न सो सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले व्यावसायिक पत्रकारिताको आवश्यकता औँल्याउँदै संस्थागतरूपमा अघि बढ्न अपिलसमेत गरे ।
“धर्मादित्य धर्माचार्य आदिवासी जनजातिमध्येका पुराना मातृभाषी पत्रकार हुन् । करिब १०० वर्ष अघि उनले बुद्धधर्म नामको पत्रिका प्रकाशन गरेका थिए । यो तथ्यलाई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले समेत स्वीकार गरेको छ”, अध्यक्ष बज्राचार्यले भने । अध्यक्ष बज्राचार्यले नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको दाबी गर्दै पत्रकारलाई २००८ सालमै श्रेष्ठले सङ्गठित बनाएको स्मरण गरे ।
दबूका महासचिव सुनिल महर्जनले सांस्कृतिक र खोजमूलक पत्रकारिता गर्न आग्रह गरे । भक्तपुरमा सक्रिय सञ्चारकर्मीले समाचारमा फरक कोणलाई प्राथमिकता दिँदैआएकोमा धन्यवाद दिँदै अझै स्तरीय समाचार सम्प्रेशन गर्नुपर्नेमा उनले जोड दिए ।
कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारको जटिल प्रकृतिको स्वास्थ्य समस्यामा दबूले आर्थिक सहयोग गरिरहेको बताए । दबूमा आबद्ध सञ्चारकर्मीको लागि १५ लाखको अक्षयकोष स्थापना भइसकेको जानकारी दिँदै उनले सो कोषलाई बढाएर रु ५० लाख पु¥याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिमा वरिष्ठ फोटो पत्रकार रत्न श्रेष्ठले उहाँका अभिभावकको स्मृतिमा ‘हरिलाल, श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपा’ घोषणा गरेका छन् । पत्रकारितामार्फत योगदान दिएका सञ्चारकर्मीलाई प्रोत्साहित गर्न सो पुरस्कारको घोषणा गरिएको पत्रकार श्रेष्ठले जानकारी दिए । उनले हरेक वर्ष रु १० हजार राशिको पुरस्कार प्रदान गर्नेगरी आफूले दबुमा नगद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
दबू भक्तपुर जिल्ला अध्यक्ष रामगोपाल तमखुको सभापतित्वमा आयोजित कार्यक्रममा बाबुकाजी साःछेँ श्रेष्ठ, हरिसुन्दर छुकाँ, सुरेश ख्वाकः श्रेष्ठ, प्रकाश मल्ललगायत सञ्चारकर्मीको सहभागिता थियो । कार्यक्रमलाई पत्रकार राष्ट्रिय दबू भक्तपुरका सचिव देवेन्द्र प्रजापतिले सञ्चालन गरेका थिए ।