१२ फागुन, दमौली / गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला जनता तथा निर्वाचनबाट हुने बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले मङ्गलबार बदर गरेपछि आज मन्त्री गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला अदालतले नभई जनता र निर्वाचनले गर्ने उल्लेख गरे ।
“प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान छ । संसदीय प्रणालीमा मध्यावधि निर्वाचन र ताजा जनादेशको घोषणा कहिल्यै प्रतिगमन हुन सक्दैन र होइन”, नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङले भने, “यो त संसदीय मूल्य, मान्यता र सिद्धान्तकै लोकतान्त्रिक अभ्यासहरू हुन् । त्यसैले यससम्बन्धी हिजो सर्वोच्चले गरेको फैसला पनि लोकतन्त्र र जनताको हार र जीतको फैसला नभई, मात्र एउटा अभ्यास र अदालती मुद्दाको फैसलामात्र हो ।”
यसैगरी गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेकपालाई एकताबद्ध बनाउन अविश्राम पहल गर्नुपर्ने बताए । मन्त्री चुमानले अझै पनि एकता सम्भव रहेको उल्लेख गरे । “नबहकिऔँ, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व ग्रहण गरौँ”, नेकपाका केन्द्रीय सदस्य एवं प्रचण्ड–माधव नेपाल समूहका नेता चुमानले भने, “हामी आफैँले बनाएको संविधानको अदालतले सम्मान ग¥यो भनेर बुझौँ ।”
गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य आशा कोइरालाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताए । पूर्वमन्त्री कोइरालाले नेकपा मिल्नुपर्नेमा जोड दिए । “हामीले एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यले एकता गरेका थियौ । कम्युनिष्टहरू एकीकृत हुनुपर्छ । एकतामा तागत हुन्छ”, उनले भने ।
सेवा विस्तार गर्दै दमौली अस्पताल
दमौली अस्पतालमा थाइराइड, आँखा र दाँत सेवा शुरु भएको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप अस्पतालले थाइराइड, आँखा र दाँत सेवा शुरु गरेको हो ।
दमौली अस्पतालबाटै थाइराइड सेवा शुरु भएपछि सर्वसाधारण यसको उपचारका लागि महङ्गो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । थाइराइड परीक्षणका लागि अस्पतालले निजी ल्याबभन्दा ४० प्रतिशत कम शुल्कमा सेवा दिने अधिकारीले बताए ।
गण्डकी प्रदेश सरकारले रु दश लाख मूल्य पर्ने थाइराइड परीक्षण उपकरण उपलब्ध गराएको थियो । दमौलीस्थित एक निजी प्रयोगशालामा भने थाइराइडको परीक्षण हुँदै आएको छ । “सरकारी स्वास्थ्य संस्थामै उक्त सेवा शुरु भएपछि महङ्गो शुल्क तिरेर अन्यत्र परीक्षण गर्न जानु पर्दैन”, अधिकारीले भने ।
अधिकारीका अनुसार अस्पतालबाटै आँखाको शल्यक्रियाका लागि पनि पहल भइरहेको छ । “शल्यक्रियाका लागि उपकरण ल्याउन पहल भइरहेको छ, त्यसपश्चात् आँखाका बिरामीलाई पनि शल्यक्रियाका लागि अन्यत्र जानु पर्दैन”, उनले भने । दमौली अस्पतालमा आँखा परीक्षण गराउन आउनेमध्ये दैनिक तीनजनालाई शल्यक्रियाका लागि पोखरा सिफारिस गर्ने गरिएको छ ।
त्यस्तै अस्पतालमा नयाँ दाँत हाल्ने सेवा पनि थप गर्न लागिएको छ । हाल सोबाहेक सबै दाँतका सेवा अस्पतालबाट प्रदान भइरहेको छ । दाँतको उपचारका लागि डिजिटल एक्स–रे मेशिन सञ्चालनमा ल्याइएको छ । सो मेसिन खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएको थियो । मेशिनलाई करीब रु ५० लाख पर्छ । दमौली अस्पतालमा दन्त सेवा नहुँदा सर्वसाधारणले निजी स्वास्थ्य संस्थामा सेवा लिनुपर्ने बाध्यता थियो ।
अस्पतालका नेत्ररोग विशेषज्ञ डा सुधा रानाभाटले उपकरण थप गर्न सकिए अस्पतालबाटै शल्यक्रिया सेवा दिन सकिने बताए । दन्तरोग विशेषज्ञ डा सुनिल सुवेदीले शुरुआती दिनमा दाँतको सेवा दिन कठिनाइ रहे पनि उपकरण थप भएपछि सहज भएको बताउँदै कृत्रिम दाँत हाल्ने व्यवस्था मिलाउन समितिलाई अनुरोध गरिएको जानकारी दिए ।
विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । अध्यक्ष अधिकारीका अनुसार सरकारले ३५ श्यया खरीदका लागि बजेट उपलब्ध गराइसकेको छ । “सामान्य उपचारका लागि पोखरा, चितवन र काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्यका लागि अस्पताल सुधारको काम गरिरहेका छौँ, नयाँ नयाँ उपकरण थप भइरहेको छ”, उनले भने ।
अस्पतालमा हालै मात्र प्रसूतिरोग विशेषज्ञको समेत व्यवस्था भएको छ । यससँगै अस्पतालबाटै प्रसूति सेवासमेत शुरु भएको छ । यस अगाडि पनि अस्पतालमा प्रसूति सेवा सञ्चालनमा रहे पनि विशेषज्ञ चिकित्सिकको सरुवा भएपछि उक्त सेवा रोकिएको थियो ।
दमौली अस्पतालका मेसु डा सुनिल पौडेलले अस्पतालको ल्याब पूर्ण स्वचालित बनाइएको जानकारी दिए । उनका अनुसार सघन उपचार कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ । “अस्पताल सुधारका धेरै काम भएका छन्, यसले गर्दा सर्वसाधारणले सहजरुपमा सेवा प्राप्त गर्न सक्ने अवस्था बनेको छ”, उनले भने ।
अस्पतालमा केही समय अगाडि एनेस्थेसिया उपकरण जडान गरिएको थियो । विना अक्सिजन शल्यक्रिया गर्न सकिने २० लाख बराबरको उक्त मेशिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो । पन्ध्र १५ श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिसकिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।
अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ चिकित्सकको दरबन्दी थप हुनेछ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलोसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । २०३४ सालमा स्वास्थ्यचौकीका रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।