१५ फागुन, टिस्टुङ / मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७७ र ७८ को नीति तथा कार्यक्रमअनुसार ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार एक लाख दरले राहत उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण ज्यान गुमाएमा प्रतिपरिवार एक लाख दिने सातौँ नगरसभाले निर्णय गरेको थियो ।
थाहा नगरमा कोरोना सङ्क्रमणका कारण हालसम्म पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गमाएका परिवारलाई नगरप्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गरे । थाहा नगरमा कोभिड–१९ बाट मृत्यु हुनेमा थाहा–२ का ७७ वर्षीय, थाहा–३ का ३३ वर्षीय पुरुष, थाहा–४ का ५१ वर्षीय, थाहा–६ को ७६ वर्षीय र १० को ४८ वर्षीय पुरुष रहेको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए ।