२२ फागुन, गण्डकी । स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य भएकामा जोड दिइएको छ ।
लुम्बिनी विकास नागरिक सरोकार मञ्च (एलडिसिएफ), लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल (डेकोन) तथा सुशासन तथा विकास प्रतिष्ठान (आइजिडी)को सहकार्यमा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले संविधानले स्थानीय तहलाई राज्यको शासकीय अधिकार प्रयोग गर्ने हैसियत दिइसकेकाले सरकार र नागरिक समाज एक अर्काबीच समन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
प्रतिष्ठान निर्देशक डा मुक्ति रिजालले संविधानतः प्राप्त अधिकारको उपयोगका सन्दर्भमा स्थानीय सरकारलाई जनउत्तरदायी बनाउन नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
प्रतिष्ठानका वरिष्ठ कार्यक्रम अधिकृत महेन्द्र लम्सालले स्थानीय सरकार र नागरिक समाजबीच राम्रो सहकार्य भएमा स्थानीय रुपमा हुने विकास निर्माणलगायत हरेक कामलाई प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।
‘स्थानीय सरकार र नागरिक समाजको सहकार्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता एवम् सामुदायिक मेलमिलापकर्ता समाज, कास्कीका अध्यक्ष हरिप्रसाद पण्डितले स्थानीय सरकार र नागरिक समाजबीचको समन्वय र सहकार्यले नै समाजमा विकासले गति लिने बताए । समस्याको समाधान गर्न नागरिक समाजले खबरदारी गर्न ,स्थानीय सरकार र नागरिक समाजबीचको सहकार्यबाट स्थानीय स्रोत व्यवस्थापन र परिचालन गर्न सरल र सहज परिस्थिति निर्माण हुने उनले बताए ।
कार्यक्रममा अधिवक्ता हरि भट्टराई, शान्तिका लागि नागरिक समाजका संयोजक विष्णुप्रसाद बराल, नागरिक समाजका रामबहादुर पौडेल, पोखरा महानगर न्यायिक समितिका सदस्य किशोर बराललगायतले सकारात्मक सोचको विकास गर्दै स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।