२६ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा सहयोगी भावनामा कमी हुँदै गएको अवस्थामा रेडक्रस जस्ता मानवीय सेवामा काम गर्ने संस्थाको भूमिका र आवश्यकता अझै बढेको बताएकछ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली शाखा स्थापनाको स्वर्णजयन्ती मनाउँन आज धनगढीमा आयोजित समारोहमा उनले मानवीय सेवामा उत्कृष्टता हासिल गरेकै कारण सबैले रेडक्रसलाई सम्झिने गरेको भन्दै आगामी दिनमा पनि आफ्नो सिद्धान्तभित्र रहेर दृढताका साथ काम गर्नुपर्नेमा जोड दिए ।
रेडक्रसले गर्ने गतिविधिमा सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले भने, “सरकार र रेडक्रसले संयुक्तरुपमा मानवीय सेवाका काम गर्न साझा योजना र कार्यक्रम बनाएर अघि बढ्न जरुरी छ ।”
रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बदलिँदो परिवेशमा रेडक्रसले सङ्घीय संरचनाअनुसार आफ्नो विधान संशोधन गर्ने र संस्थालाई पुनःजीवित गर्न पहल गरेको बताए ।
समारोहमा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल, प्रदेशसभा सदस्य डिल्लीराज पन्त, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, रेडक्रसका जिल्ला सभापति उत्तम जोशीलगायतले रेडक्रसले मानवीय सेवामा खेलेको भूमिका माथि चर्चा गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखा विसं २०२७ फागुन २६ गते स्थापना भएको थियो ।
सोही दिन स्थानीय समाजसेवी खेमबहादुर शाहीको पहलमा रेडक्रस कैलालीको तदर्थ समिति गठन गरिएको थियो । स्वर्णजयन्ती समारोहमा जिल्ला शाखाका संस्थापक खेमबहादुर शाहीसहित रामचन्द्र सत्याललाई मरणोपरान्त सम्मानित गरियो ।
यस्तै कार्यक्रममा लामो समय जिल्ला सभापतिको भूमिकामा बसेर महत्पूर्ण भूमिका निर्वाह गर्नुहुने हेमराज ओझा र शिवदत्त जोशीलगायतलाई पनि सम्मानित गरियो । यसैगरी कैलालीमा पहिलो पटक रक्तदान गर्नुहुने साविकको सेती अञ्चल अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंह र सबैभन्दा धेरै ९३ पटक रक्तदान गर्नुहुने पत्रकार दीपक उपाध्यायलाई समेत सम्मानित गरियो । रेडक्रस सोसाइटी कैलाली शाखाले स्थापनाकालदेखि नै मानवीय सेवाका क्षेत्रमा महत्वपूर्ण गतिविधि गर्दै आएको छ ।