गण्डकी प्रदेश

विपद् व्यवस्थापनका लागि ‘विपद् पोर्टल’ सञ्चालन

१ चैत, वालिङ / स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ । विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने, विपद् व्यवस्थापनसम्बन्धी तथ्याङ्कलाई एकरूपता प्रदान गर्ने र पोर्टलको उपयोगिता बढाउन सहयोग पु¥याउने उद्देश्यले ‘विपद् पोर्टल’ निर्माण गरी सञ्चालनमा ल्याइएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनीयर प्रकाश अर्यालले बताए ।
युथ इनोभेसन ल्याब प्रालि काठमाडौँको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । सम्भावित जोखिमयुक्त स्थानमा रहेका वालिङका नागरिकको विपद्कै कारण जनधनको क्षति हुन नपाओस् भन्नका लागि एकै ठाउँबाट विपद् पूर्वको अवस्थाका बारेमा जानकारी दिइने उनले बताए । “यस पोर्टललाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सेन्सर जडान गरी ‘अर्ली वार्निङ सिस्टम’ मार्फत नागरिकलाई थप सुसूचित गराई जनधनको क्षति हुनबाट जोगाउने तयारी छ”, उनले भने । ‘विपद् पोर्टल’ एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली हो । यो पोर्टल नेपाल सरकारको गृह मन्त्रालयले आरम्भ गरेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वामित्वमा रहेको युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बताए ।
“विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा पूर्वतयारी तथा जोखिम न्यूनीकरण कार्य गर्नलाई सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने र सङ्कलित तथ्याङ्कको प्रयोगका लागि ‘विपद पोर्टल’ले विशेष महत्व दिएको छ”, ल्याबका निर्देशक खतिवडाले भने, “विपद्का सूचना तथा तथ्याङ्क एकै ठाउँबाट सबैले जानकारी पाउन सक्ने, हरेक घटनाको व्यवस्थापन र राहत वितरण कार्यसमेत नदोहोरिने गरी प्रभावकारी तरिकाले कार्य गर्नका लागि पोर्टल सञ्चालन गरिएको हो ।”
‘विपद् पोर्टल’ मा विपद्सम्बन्धी विभिन्न विधाका सूचना तथा तथ्याङ्क एकीकृत गरी व्यवस्थापन गरिन्छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यका लागि सूचना तथा तथ्याङ्कको आवश्यकतानुसार प्रयोग गर्न सकिने छ । स्थानीय तहमा रहेका स्रोत र साधन, घटनाको विवरण, क्षतिको विवरण आदिको जानकारी दिन र लिन सकिने गरी सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थापन गरिएको ल्याबका निर्देशक खतिवडाले बताए ।