३ चैत, डोटी / गर्मीयाम शुरु भएसँगै डोटीमा खानेपानीको समस्या बढ्दै गएको छ । जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरलगायतका क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको हो । खानेपानीको समस्या शुरु भएपछि यहाँका होटेल व्यवसायी सबैभन्दा बढी मर्कामा परेको पातली होटेल दिपायल पिपल्लाका सञ्चालक मोहनबहादुर पातलीले बताए ।
पानीको समस्याका कारण अधिकांश स्थानीयवासीलाई शौचालय प्रयोग गर्न समस्या उत्पन्न भएको छ । खानेपानीको मुहानमा पानी सुक्दै गएका कारण केही दिनयता पानीको समस्या उत्पन्न भएको राजपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्रबहादुर शाहले बताए । उनले भने, “मुहानमा पानी सुक्दै गएको छ, ट्याङ्कीमा पानी जम्मा हुने नपाउने भएका कारण खानेपानीको समस्या शुरु भएको हो ।”
खानेपानीको समस्या शुरु भएपछि यहाँका स्थानीयवासी नजिकै बगिरहेको सेती नदीको धमिलो पानी खान बाध्य भएका छन् । खानेपानीका लागि वैकल्पिक व्यवस्थापन नहुँदा वर्षेनी डोटीमा खानेपानीको समस्या उत्पन्न हुँदै आएको होटेल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताए । उनले भने, “जिल्लामा पानीका मुहान खासै छैनन्, खानेपानीको वैकल्पिक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो, यो समस्या वर्षेनी हुँदा कसैले चासो देखाएका छैनन् ।” यसैगरी पानीको समस्या उत्पन्न भएपछि किसानले लगाएका तरकारीलगायत खेतीबाली पनि सुक्दै जान थालेको किसान बताउछन् ।
जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल रापजुरमा खानेपानीका ट्याङ्की वर्षौ पहिले निर्माण भएका तथा नयाँ ठूला ट्याङ्की निर्माण नभएका कारण पानी जम्मा गर्न नसकिएका कारण झनै समस्या उत्पन्न हुँदै आएको राजपुर खानेपानी तथा उपभोक्ता समितिको कार्यालयले जनाएको छ । यहाँका स्थानीयवासी हिजो आज खानेपानीका लागि निकै टाढाका खोला तथा पुराना इनार, धारामा जान बाध्य भएका छन् । त्यहाँ पनि शुद्ध पानी नपाई र घण्टौँसम्म पानीका लागि लाइन बस्नुपर्ने अवस्था सिर्जना हुँदै आएको दिपायल गैराका अर्का स्थानीयवासी सुरज कामीले बताए ।
दिपायल पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पताल तथा राजपुरमा रहेको सुजङ अस्पतालमा पानी नभएका कारण समस्या भएको बताइएको छ । अस्पतालमा धेरै पानी आवश्यक पर्ने भएकाले आफूले अहिले ट्याक्टर तथा महेन्द्रा जीपमा पानी ओसारेर काम चलाउँदै आएको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ कुँवरले बताए ।
जिल्लाका विभिन्न मुहान करीब तीन दशकअघि बनाएको खानेपानी आयोजना जीर्ण बन्दा तथा मर्मत सम्भार नहुँदा पनि खानेपानीको समस्या उत्पन्न हुँदै आएको स्थानीयवासीको आरोप छ । जिल्लामा गर्मी तथा सुक्खायाम शुरु भएसँगै आफूहरुले पानीका लागि एक घण्टाको पैदल दूरीबाट पानी ल्याउनुपरेको दिपायल सिलगढी नगरपालिका–६ का स्थानीय दीर्घ नेपालीले बताए ।