कर्णाली प्रदेश

नाग्म–गमगढी राजमार्गका कठिन चट्टान चौडा बनाइँदै

४ चैत, खलङ्गा / नाग्म–गमगडी राजमार्गको अत्यधिक कडा चट्टान भएको जिअ भिड चौडा गरिने भएको छ । कठिन ढुङ्गाको चट्टानबीचबाट खोलिएको चार मिटर बाटोलाई छदेखि सात मिटर बनाइएपछि नाग्म गमगडी राजमार्गको यात्रामा सहज हुने भएको छ ।
यातायातमा डर लाग्ने विशेषगरी सार्वजनिक ठूला गाडी हिँड्न कठिन सो मोड र क्षेत्रको एक हजार ८०० मिटर सडक चौडा गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला भण्डारीले बताए ।
नाग्म गमगडी राजमार्गकै कठिन क्षेत्र भएको जिया भिडको कार्यालयले अनुगमनसमेत गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिँदै भने, “थोदुङ कन्स्ट्रक्सनले जिम्मा लिएको सो क्षेत्रको काम सम्पन्न भएको तर भुक्तानी भने बाँकी रहेको छ ।” दुई करोड २० लाखको उक्त ठेक्का काम सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सुधार हुँदै सडक

देशकै पर्यटन क्षेत्र रहेको रारा तालसम्म जाने नाग्म गमगडी राजमार्गको धेरैजसो क्षेत्रमा बाटो सुधार भएको र सडक बन्नेक्रम जारी भएकाले चालु आर्थिक वर्षमा गाडी सजिलै गुड्नेगरी काम भइरहेको कार्यालय प्रमुख भण्डारीले बताए ।
उनले भने, “धेरैजसोमा सुधार भएको छ, सबैभन्दा बढी हिलो क्षेत्र सिञ्जाको घोडेडगामा सुधार भएको छ, गुठीज्यूला पनि गाडी अड्किने सम्भावना छैन, रोकायावाडामा पनि सुधार भएको छ ।” सडक हिलो र खाल्डाखुल्डीले गर्दा रारा सिञ्जा जाने पर्यटकलाई सास्ती भइरहेको समयमा ग्राभेल र स्तरवृद्धिपछि सजिलो हुने कार्यालय प्रमुख भण्डारीले बताए ।
जिल्लाको कनकासुन्दरी गाउँपालिका र मुगुको सिमाना भुलभुलेदेखि सातमोडसम्म ग्राभेल भएको हुँदा त्यहाँ पनि गाडी बर्खायाममा सजिलै गुड्ने बताइएको छ । छिमेकी जिल्लाा मुगु क्षेत्रको अलिकति पिनाको अगाडि थोरै ग्राभेल र ताल्चाको उकालोमा ग्राभेल हुन बाँकी रहेको तथा यही आर्थिक वर्षमा बनाउने सरकारको लक्ष्य रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।