६ चैत, सर्लाही । सर्लाहीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम मलंगवामा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना अधिकारी राजु पोखरेलले बताए ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा बसेको जिल्ला जनगणना समन्वय समितिको बैठकले विसं २०७८ मा हुने जनगणनाका लागि सदरमुकाम मलंगवामा जिल्ला जनगणना कार्यालय र अन्य ६ स्थानमा स्थानीय जनगणना कार्यालय खोल्ने निर्णय गरेको केन्द्रीय तथ्याङ्क विभागबाट सर्लाही जिल्लाका लागि खटिनुभएका पोखरेलले बताए ।
जिल्लास्तरीय कार्यालय स्थापना गरी विसं २०७८ को जिल्लाको जनगणना कार्यको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। यस्तै, आगामी वैशाख १ गतेबाट सञ्चालन हुने गरी लालबन्दी, मलंगवा, कविलासी, गोडैता, ईश्वरपुर र बरहथवा नगरपालिकामा स्थानीय जनगणना कार्यालय खोलिने पोखरेलले बताए ।
उहाँका अनुसार कार्यालयसँग सीमित बजेट र कर्मचारी भएकाले जिल्लाका स्थानीय तहसँग समन्वय गरी जनगणना कार्य अघि बढाइने बताइएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक करारमा नियुक्ति गर्न सरकारले चैत ११ गतेसम्मका लागि अनलाइन विज्ञापन गरिएको कार्यालयले जनाएको छ ।
केही दिन कार्यालयको व्यवस्थापन, स्थानीय तह तथा जनगणना समन्वय समितिको पदाधिकारी रहेका जिल्लास्थित विभिन्न कार्यालयलाई पत्राचार गर्ने कार्यमै ब्यस्त हुने पोखरेलले बताए । नेपालमा हरेक १० वर्षको अन्तरालमा राष्ट्रिय जनगणना हुने गरेको छ । सोहीअनुसार विसं २०७८ मा हुने जनगणनाअन्तर्गत सुपरीवेक्षकले वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने र गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर जनगणनाको कार्य गर्ने कार्यालयले जनाएको छ ।
पत्रकार अलीमाथि आक्रमण गर्नेलाई कारवाही माग
नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका उपाध्यक्ष बख्तियार अलीमाथि भएको साङ्घातिक आक्रमणको विरुद्धमा कमलामाई मिडिया प्रालिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रकार अलीमाथि फागुन २७ गते साँझ आक्रमण भएको थियो । पत्रकार अलीको अहिले काठमाडौँमा उपचार भई रहेको उनको परिवारले जानकारी दिएको छ । टाउँकोमा रगत जमेको भनी जनकपुरबाट पत्रकार अलीलाई बिहीबार काठमाडौँ लगिएको पत्रकार अनवल अहमदले बताए।
समाचार सम्प्रेषणलगायत विषयलाई लिएर पछिल्लो समय सर्लाहीका पत्रकार माथि साङ्घातिक आक्रमण तथा धम्की आउने गरेको भन्दै कमलामाई मिडिया प्रालिका अध्यक्ष एवं रासस जिल्ला समाचारदाता पत्रकार शंखर पहाडी नेतृत्वको पत्रकारको टोलीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामा¬ङलाई ध्यानाकर्षण पत्र बुझाएको हो । त्यसैगरी जिल्ला प्रहरी, नेपाल पत्रकार महासङ्घ सर्लाही शाखालाई ध्यानाकर्षण पत्र बुझाइएको छ । समाचार सम्प्रेषणको विषयलाई लिएर जिल्लाका पत्रकारमाथि भएका आक्रमण तथा धम्की प्रति जिल्लाको सुरक्षा संयन्त्रको ध्यानाकर्षण गराउनुको साथै पत्रकार अलीमाथि आक्रमण गर्ने जोसुकै भए पनि नियन्त्रणमा लिएर आवश्यक कारवाही गर्न पत्रकारले माग गरेका छन् ।