प्रदेश 1

गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष गिरिजाप्रसादको शालिक अनावरण

७ चैत, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शालिक आज अनावरण गरिएको छ । झापामा स्थापना गरिएको यो उनको पहिलो शालिक हो ।

कोइरालको ११औँ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस क्षेत्रीय समितिले मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित कार्यालयमा निर्माण गरेको शालिकको अनावरण गरिएको हो । नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले शालिकको अनावरण गरे । भारतको जयपुरबाट नेपाली एक लाख २० हजारमा खरिद गरेर उनको अर्धकदको प्रतिमा ल्याइएको नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति मणि उप्रेतीले जानकारी दिए ।

उनले नेपाली राजनीतिका शिखर पुरुष कोइराला स्मृतिलाई जीवन्त राख्न कार्यालयको बरण्डामै उनको शालिक राखिएको बताए । शालिक निर्माणका लागि पार्टीका कार्यकर्ताबाटै रकम सङ्कलन गरिएको थियो ।