पु.समाचार

मिथिलाञ्चलमा विधिवत् होली शुरु

८ चैत, जलेश्वर । मिथिलाञ्चलमा आजदेखि विधिवत् होली शुरुआत भएको छ । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कंचनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले होली खेलाइएपछि परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको शुरु भएको हो ।

होली पर्वको शुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग शुरु भएको छ । परापूर्वकालमा भगवान् रामचन्द्र र माता जानकी बनवास गएको दिनमा महोत्तरीको कंचनवनमा होली पर्व मनाएका बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानि पनि रातो भएको जनविश्वास छ ।

मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममाकै क्रममा भगवान्ले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्री पनि होली पर्व मनाएका छन् ।

धनुषाको हनुमानगढीमा अघिल्लो शनिबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमामा यात्री जम्मा भई आजदेखि भारतको कलाणेश्वरबाट शुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

महोत्तरीको कंचनवनमा सातौँ दिनको बासा त्याग गरेर आज बिहान होली मनाउँदै सम्पूर्ण परिक्रमायात्री आठौँ दिनको बासका लागि धनुषाको पर्वता पुग्ने भएका छन् ।

राजस्व टोलीको अनुगमनको हल्लाले हाटबजार बन्द

महोत्तरीका पाँच वटा प्रमुख हाट बजार एक सातादेखि राजस्व टोलीको अनुगमनको हल्लाले बन्द परेको छ । पशु तथा कृषि बजारका लागि प्रख्यात जिल्लाको गौशाला बजार, तरकारी अन्नबालीका लागि प्रख्यात औरही बजार, सम्सी बजार, मटिहानी बजार र जिल्लाको सदरमुकाम रहेको जलेश्वर बजारका अधिकांश पसल एक सातादेखि बन्द रहेको छ ।

उल्लेखित बजारमा राजस्वको अनुगमन टोली आउँदैछ भन्ने हल्लाले सुनचाँदी, खाद्यान्न, औषधि, किराना, हार्डवेयर, कपडा, जेनरल स्टोर, मदिरालगायतका पसल बन्द रहेको छ ।

अधिकांश पसलमा बीलबिजक नराख्ने, ग्राहकलाई बिल नदिने, तौलमा घटीबेसी गर्ने, म्याद गुज्रेका सर सामान राख्ने, गुणस्तरहीन सर सामान राख्ने र केही पसलमा विनाभन्सार तथा राजस्व तिरेको भारतीय सरसामानसमेत बिक्रीवितरण गरिने बताइएको छ । पक्राउ र कारवाहीमा पर्ने डरका कारण यहाँका हाट बजारका अधिकांश पसल बन्द छ ।

राजस्वको अनुगमन, निरीक्षणको हल्ला महोत्तरीमा मात्रै नभएर शुक्रबार प्रदेश नं २ को राजधानी जनकपुरमा पनि व्यापकरुपमा चलेको थियो भने त्यस दिन त्यहाँका पनि अधिकांश पसल बजार बन्द परेको थियो ।

यस सन्दर्भमा जलेश्वर उद्योग वाणिज्य सङ्घले सार्वजनिक सूचना जारी गरेर त्यस्तो कुनै अनुगमन नहुने जनाउँदै निर्वाधरुपमा हाट बजार सञ्चालन गर्न सबै व्यापारी व्यवसायीलाई आग्रह गरे पनि अझै यहाँका पसल बन्द अवस्थामै छन् ।

परिक्रमा मेलामा पक्राउ

परिक्रमा मेलामा चोरी गर्ने १७ महिला तथा तिनका बालबालिकालाई प्रहरीले पक्राऊ गरेको छ । इलाका प्रहरी कार्यालय बलवाका प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंहका अनुसार १५ दिने परिक्रमा शुक्रबार महोत्तरीको धु्रवकुण्ड र शनिबार कंचनवनमा बास बसेको अवसरमा लागेको मेलामा परिक्रमा यात्रुको सुनचाँदीका गरगहना, नगर र मोबाइल चोरेको आरोपमा १७ जना महिला तथा तिनका बालबालिकालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चोर महिला तथा बालबालिकाले दुवै स्थानका मेलामा सहभागी परिक्रमा यात्रुको ५४ थान सुनका गरगहना, १२ थान चाँदीका गरगहना, छ थान मोबाइल, ३५ हजार भारतीय र १२ हजार नेपाली रुपैयाँ चोरी गरेको अवस्थामा पक्राउ परेका हुन् ।

सुनका सिक्री, मङ्गलसूत्र, तिलहरी, चाँदीका पायल, सिक्री, बालासहितका सरसामानसहित पक्राउ परेका सबै महिला तथा बालबालिकालाई प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीका पठाएको जनाएको छ ।