लुम्बिनी

सकारात्मक सोचले समाज परिवर्तन गर्न सकिन्छः मुख्यमन्त्री पोखरेल

८ चैत, ललितपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सफल र सवल समाज निर्माणका लागि सकारात्मक सोचको विकास गर्दै जानुपर्ने बताएका छन् । राष्ट्रिय दलित आयोगले आयोजना गरेको ‘५६औँ अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस’ का अवसरमा मुख्यमन्त्री पोखरेलले नकारात्मक मनोविज्ञानले समाजमा दिनानुदिन प्रवाभ पार्दै जाने भएकाले सकारात्मक अनि फरक किसिमको सोच बनाएर अघि बढ्न आग्रह गरे ।

उनले भने, “आफूमा दबिएको सोचले समाज रुपान्तरण गर्न निकै कठिन हुने भएकाले सबै मिलेर काम गर्ने संस्कृतिको विकास गर्दै जानुपर्छ ।” हालको सो समयमा कसरी मुलुक अघि बढाउन जरुरी छ त्यसतर्फ सबै नागरिकले ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

राष्ट्रियसभा सदस्य नरपति लोहारले पढेर अनि पदमा पुगेर मात्रै जो कोहीले जातीय सोचको अन्त्य गर्न नसक्ने भएकाले विचारमा नै परिवर्तन गर्न जरुरी रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामीहरूले एकपटक आन्दोलन नगरी दलितको मुक्ति सम्भव नदेखिएकाले यसतर्फ जोड दिनुपर्छ ।”

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मठमन्दिर अनि धाराहरूमा अहिले पनि छुवाछूतको विषय कायमै रहँदा सो विषयलाई अन्त्य गर्न हरेक टोलका गन्ने मान्नेका साथै विज्ञले लागि पर्नु जरुरी भएको सुझाव दिए । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले समाज परिवर्तन गर्न सामन्तवादी सोचलाई परिवर्तन गर्न जरुरी भएको औँल्याए ।

दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालयका सदस्य गणेश विकले समाजमा पटकपटक घटेका घटनाबारे केकस्ता कदम चालिएका भन्ने जवाफ माग गरे । राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी खतिवडाले समाजमा भएको विभेद हटाउन आफू सो आयोगसँग समन्वय गरी अघि बढ्न इच्छुक भएको धारणा व्यक्त गरे । आयोगका सल्लाहकार जगदीश वैद्यले महिला र पुरुषबीच सम्मान न्यायको अभावमा पुरुषले कहिले काँही नसोचेको आरोप खप्नुपर्ने दुखेसो गरे ।

आयोगका सचिव कृष्णप्रसाद धितालले आयोगमा स्वीकृत दरबन्दी कम हुँदा काम गर्न कठिनाई भएको गुनासो गरे । सो आयोगका अध्यक्ष देवराज विश्वकर्माले सद्भाव र सहकार्यको माध्यमबाट नै असमानता, विभेद, छुवाछूतको उन्मूलन गर्न सम्भव हुने भएकाले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।