डोटी, १४ चैत । भारतमा कोरोना सङ्क्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन् । भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर लागेका छन् ।
भारतबाट घर आएका नागरिकलाई राख्नका लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टिन निर्माण भइरहेका छन् भने स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयमा अनिर्वाय रहन निर्देशनसमेत दिइएको छ । अत्यावश्यकबाहेक अन्य कामका लागि यहाँका स्वास्थ्यकर्मीको बिदासमेत बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताएका छन् ।
जिल्लामा कोरोना महामारीको फैलिन नदिन तथा रोकथामका लागि जिल्लाको जोरायल गाउँपालिकाले अत्तरिया-स्याउले जोड्ने सुदूरपश्चिमका पहाडी जिल्लाको एक मात्र भीमदत्त राजमार्गको बुडरमा यात्रुको दिनहुँ स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क स्थापना गरेको छ । चौबीसैँ घण्टा स्वास्थ्यकर्मी रहने गरी उक्त हेल्थ डेस्कको स्थापना गरिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
जोरायल-२ छतिवनको बुडरमा उक्त हेल्थ डेस्कको सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको हो । प्रदेशका नौ जिल्लामध्ये सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा स्थापना गरिएको हेल्थ डेस्कले प्रभावकारी स्वास्थ सेवा दिने अपेक्षा गरिएको जोरायलका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिएका छन् ।
यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी शुरु गरिएको उक्त हेल्थ डेस्क नागरिकको स्वास्थ्य र सुरक्षाका हिसाबले निकै प्रभावकारी हुने उनको भनाइ छ । यसैगरी विगतमा यहाँका सरकारी स्कूलमा स्थापना गरिएका क्वारेन्टिन भवन स्वास्थ्य सामग्रीसहित अहिले पुनः तयारी अवस्थामा राखिएका छन् । भारतबाट रोजगारी गरेर घर आउने नागरिकलाई अनिवार्यरूपमा १४ दिन क्वारेन्टिनमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा यही चैत १२ गते बसेको कोभिड-१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णयसमेत गरेको छ ।
होलीलगायत सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो सङ्क्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सीमानाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रबाट भारतदेखि घर फर्किनेको सीमानाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत १० दिनको अवधिमा सुदूरपश्चिममा कम्तीमा आठ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् ।
भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरले भारतसँग सीमा जोडिएका बैतडी, दार्चुला, कैलाली तथा कञ्चनपुरसहितका चार जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको जनाएको छ ।