१४ चैत, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले बाबु, आमाको काजकिरिया गरेका बेला पाठ एवं कथा वाचन गराउने गरुड पुराणअन्तर्गतको प्रेतकल्पका विषयमा जानकारी गराउने उद्देश्यले विचार गोष्ठी आयोजना गरिएको छ ।
मृत्यु संस्कारपछि जीवात्माको उत्तम गति होस् भन्ने उद्देश्यले गरुड पुराणअन्तर्गतको प्रेतकल्प पाठसहित त्यसको अर्थ अर्थात् कथा मृतकको शोकमा जुठो बारिरहेका आफन्तलाई सुनाउने गरिन्छ । वाल्मीकि विद्यापीठ वेदान्त विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा हाल धेरैले पाठ एवं कथा वाचन गराउने १६ अध्यायको प्रेतकल्पपछि प्रचलनमा आएको जानकारी दिइएको छ ।
प्राचीनकालदेखि प्रचलनमा रहेको गरुड पुराणको प्रेतकल्प ४९ अध्यायको रहेको उपप्राध्यापक चेतमणि न्यौपानेले प्रस्तुत गर्नुभएको कार्यपत्रमा उल्लेख छ । “भारतको राजस्थानको झुञ्झुणु नामको नगरका नौनिधिराम मिश्रले तयार पारेकाे १६ अध्यायको प्रेतकल्पमा ४९ अध्यायको प्रेतकल्पमा नभएका २६ वटा विषय उल्लेख गरिएको छ, १६ अध्यायको सारोद्वार प्रेतकल्प गरुड पुराणको अंश होइन, यो मिश्रको स्वतन्त्र निबन्ध हो, ऋषि वाक्य होइन, यो करीब २०० वर्षअघिदेखि प्रचलनमा आएको हो”, उनले भने ।
कार्यपत्रमाथि सहप्राध्यापक श्रीराम सापकोटा, सहप्राध्यापक प्रमोदवद्र्धन कौडिन्यायनलगायतले टिप्पणी गर्नुहुँदै ४९ अध्याय भएको प्रेतकल्पलाई नै व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो । बजारमा ३५ र ४५ अध्यायका प्रेतकल्प पनि पाइन्छन् । तीसमेत गरुडपुराणको वास्तविक अंश नभएको कार्यपत्रमा उल्लेख छ ।