आर्थिक

कोरोनाको चपेटामा परेका बागलुङका घरवासमा आन्तरिक पर्यटक देखिँदै

बलेवा, २१ चैत । कोरोना महामारीको चपेटामा परेका बागलुङका घरवास (होमस्टे)मा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

जिल्लामा पहिलोपटक सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरवास भकुण्डेमा पछिल्लो एक महिनायता बिदाका दिनमा पर्यटक पुग्ने गरेका छन् । जिल्लाका झण्डै तीन दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ पछि ठप्प बनेका अधिकांश घरवास सेवा विस्तारै शुरु हुन थालेको अतिथि सत्कार सामुदायिक घरवास बागलुङ नगरपालिका-१० भकुण्डेका अध्यक्ष खिमबहादुर थापाले बताए ।

कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएका घरवास पहिलेका जस्तो भरिभराउ भने हुन् सकेका छैनन् तर कोरोना महामारीको समयमा ठप्प रहेका घरवासमा विस्तारै चहलपहल देखिन थालेको हो ।

काठेखोला गाउँपालिका-७ रेशमा सञ्चालनमा रहेको डोटा देउराली सामुदायिक घरवासमा पनि आन्तरिक पर्यटक पुग्न थालेका छन् । स्थानीय खानाको स्वाद र घरवास आसपासमा रहेका पर्यटकीय क्षेत्रमा घुम्नका लागि त्यहाँ पुग्नेको सङ्ख्या धेरै छ ।

घरवासबाट देखिने प्राकृतिक दृश्यका साथै स्थानीय जातजातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम शुरु भएको डोटा देउराली सामुदायिक घरवास रेशका सञ्चालक प्रेमबहादुर थापाले बताए ।

कामको सिलसिलामा गाउँमा पुग्नेका लागिसमेत गतिलो आवास बन्ने गरेका छन् यहाँका घरवास । विभिन्न योजना र परियोजनाका काम लिएर गाउँ पुग्ने घरवासमा बसेर रमाउने गरेको थापाले बताएका छन् ।

बागलुङका गाउँमा रहेका होमस्टेलाई व्यावसायिक रुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दैनिकी रहने गरेको भए पनि केही गाउँका घरवास सेवामूलक हिसाबले नै सञ्चालनमा रहेका छन् ।

खानाका रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी, स्थानीयरुपमा उत्पादन भएका मकैलगायतका स्थानीय खानाले धेरैलाई लोभ्याउँछ ।

“कोरोना महामारीको दोस्रो लहरको त्रास छ, तै पनि गाउँघरमा चहलपहल विस्तारै बढ्दै छ”, रेश सामुदायिक घरवासका सञ्चालिका उजेली शर्माले भने, “पाहुना आएपछि काम बढ्छ, काम बढ्दा आम्दानी नहुने कुरै भएन ।

” रेशका अधिकांश घरमा स्थानीय जातका कुखुरा पालिएको र नजिकैको जङ्गलमा पाइने बाँकोबाट गुन्द्रुक बनाएर राखिएको छ । कोरोना महामारीपछि विस्तारै बढेको चहलपहलले घरवास सञ्चालकमा उत्साह छाएको छ ।