चरीकोट, ३० चैत । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका-३ का २१ वर्षीय अभिनय कार्कीले मेची-महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन् ।
यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत २७ गते महाकालीको कन्चनपुरको नेपाल-भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५-१९७० मा पुगेर यात्रा सम्पन्न गरेका हुन् ।
विश्वभर सुख, शान्ति, सम्वृिद्ध र राष्ट्रिय एकताको कामनासहित एक सयभन्दा बढी देशको राष्ट्रिय झण्डा बोकेर पैदलयात्रा पूरा गरेको कार्कीले बताएका छन् ।
करीब दुई महिना लाग्ने अनुमान गरे पनि आराम गर्दै यात्रा गर्ने क्रममा ३७ दिनमा आफूले यात्रा पूरा गरेको कार्कीले बताए । मेचीदेखि महाकलीसम्म ३७ दिनमा आफूले करीब एक हजार २०० किलोमिटर यात्रा गरेको कार्कीले बताएका छन् ।
यात्रा सकेर दोलखा आउनुभएका कार्कीले पत्रकारसँगको कुराकानीमा अब केही दिनमा नै आफूले नेपालका ७७ वटा जिल्लामा १०० दिनमा साइकलयात्रा गर्न लागेको जानकारी दिएका छन् ।