काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ ।
रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पाेरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पाेरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो ।
संघीय संसद्को सार्वजनिक लेखा समितिले सुरुङमार्गको दोस्रो प्याकेजको पूर्वयोग्यता (पीक्यू)मै अनियमितता, प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै यस प्रक्रियालाई नै रद्द गरेर पुनः खरीद प्रक्रिया अघि बढाउन दिएको निर्देशनकै बीच सेनाले ठेक्का सम्झौता गरेको हो ।
यद्यपि विभागीय मन्त्रालय रक्षामार्फत लेखा समितिलाई एक साताअघि पत्र लेख्दै नेपाली सेनाले पीक्यू रद्द गर्न दिइएको निर्देशनमा पुनर्विचार गरिदिन आग्रह गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।