कृषि

गण्डकी प्रदेशमा कोरोनाको ‘हटस्पट’ : रोगभन्दा भोकको पिरलो

गलेश्वर । गण्डकी प्रदेशमै कोरोनाको ‘हटस्पट’ बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरु स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन् । जिल्लाका ग्रामीण क्षेत्रमा भुसको आगो झैँ कोरोना सङ्क्रमण फैलँदै गएको भए पनि काम नगरी नहुने बाध्यता भएकाले सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरुले बताएका छन् ।

अहिले गाउँमा मकै गोड्ने, धानको बिउ राख्ने र खेतबारीमा मल राख्ने समय भएको छ । खेतीपातीको काम समयमा नै गर्नुपर्ने भएकोले मास्क लगाएर सकेसम्म भौतिक दूरी कायम गरी मकै गोड्न थालेको बेनी नगरपालिका–२ बगरफाँटकी सावित्रा शाहले बताइन् ।

दुःख नगरी खान नसकिने भएकाले सुरक्षित रहँदै खेतीपातीमा जुटेको कृषकहरुको भनाइ छ । रोगभन्दा भोक टार्न समस्या हुने भएकोले जोखिम भए पनि सकेसम्मको सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर कार्कीको भनाइरहेको छ ।

“रोगभन्दा ठूलो भोक रहेछ, परिवार र छोराछोरीको दुई छाक टार्नै भए पनि खेती गर्नुपर्छ, रोगसँग डराएर मात्र पनि त भएन नि !”, खबराका कृषक चन्द्रबहादुर कार्कीले भने , “गत वर्ष पनि खेती लगाउने बेलामै कोरोनाले दुःख दिएको थियो, यस वर्ष पनि यस्तै भयो, कोरोनासँग डराएर खेती नगर्ने हो भने त भोकभोकै मर्नुपर्ने दिन आउँछ ।”

शाह र कार्की मात्र होइन अहिले धेरै कृषकहरु खेतबारीमा व्यस्त छन । “के गर्नु मानो रोपेर मुरी फलाउने बेला हुँदैछ, कोरोना रोगभन्दा हामीलाई परिवारको पेट भर्ने चिन्ताले पिरोल्छ”, मङ्गला गाउँपालिका–३ का कृषक युमाकान्त सापकोटाले भने , “गाउँमा भनेजति खेतालो पनि पाइन्नन्, अर्मपर्म नगरी खेती लगाउनै सकिँदैन ।”

वर्षात्को खेती मौसम शुरु भएसँगै बजारबासीभन्दा गाउँका कृषकलाई बालीनाली लगाउन बढी चटारो छ । कोरोना महामारीको वास्तै नगरी धान, कोदोको बिउ राख्न र मकै गोड्न यहाँका कृषकहरु व्यस्त छन् ।

कृषिबाट जीविका चलाउने उनीहरूलाई यतिबेला खेतीपाती लगाउन फुर्सद छैन । केही अन्न जोहो नगरी बाँच्ने विकल्प नभएका किसान यतिबेला खेतबारीमा साँझ बिहानै व्यस्त बनेको मङ्गलाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएसँगै शहरबजार बस्नेहरू पनि धमाधम गाउँ फर्किएका छन् । खेतीपातीको मौसम शुरु भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू बताउँछन । शहरभन्दा पनि गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको धौलागिरि गाउँपालिका–३ मुनाका पुर्म पुनले बताए । “कोरोनाले नानीहरूको स्कुल बिदा भयो, यो महामारीमा त गाउँमै काम गर्नु र समय कटाउनु आराम छ, त्यसैले शहरबाट गाउँमा फर्किएका व्यक्तिहरु पनि अहिले खेतीपातीको काममा व्यस्त भएका हुन्”, धौलागिरि–३ मुनाका वडाअध्यक्षसमेत रहेका पुनले भने ।

खेतीयोग्य जमिनमा वृद्धि, पर्याप्त सिँचाई तथा रोग र किराको प्रकोपमा हटेपछि गत वर्ष म्याग्दीमा धान उत्पादन बढेको थियो । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । एक लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरुरूामा कृषिमा आश्रित रहेको भए पनि उनीहरुले व्यावसायिकरूपमा उत्पादन गर्न सकेका छैनन् । सात प्रतिशत जनता व्यावसायिकरूपमा नै कृषि पेसा अँगालेर मनग्गै कमाइ गर्न सफल भएका छन् ।

गोठेमलको प्रयोग र यस वर्ष पर्याप्त वर्षाले सिँचाइ पुगेकाले पनि किसानलाई समयमै खेती लगाउन धेरै सहज भएको छ । सरकारले महामारीमा स्वास्थ्य मापदण्ड अपनाउन लगाए पनि समयमा नै मल आवश्यक पर्ने किसानलाई मल उपलब्ध गराउन कार्यालयले आवश्यक तयारी गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।