काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ र ११ का किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरण गरी कम लगानीमा बढी आम्दानी लिन सकियोस् भन्ने उद्देश्यले हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका प्रमुख महेश खरेलका अनुसार किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानीमा खरिद गरिएको ६० थान हाते ट्र्याक्टर किसानलाई वितरण गरिएको हो । वडा नं ११ को वडा कार्यालयमा भएको कार्यक्रममा नगरप्रमुख खरेल, उपप्रमुख लक्ष्मी दनुवार, वडाध्यक्ष शिवशरण लामा, वडासदस्य हिराकाजी तथा वडासचिवलगायतको उपस्थितिमा स्थानीय किसानलाई ३५ थान हाते ट्र्याक्टर वितरण गरिएको छ ।
त्यस्तै वडा नं ९ मा ट्र्याक्टर वितरण गरेको कार्यक्रममा वडाध्यक्ष किरण श्रेष्ठले २५ थान हाते ट्र्याक्टर किसानलाई हस्तान्तरण गर्नुभएको छ । वडा नं ९ मा हाते ट्र्याक्टर वितरण गरिएको छ । नगरपालिका उपप्रमुख दुनुवारले कम लगानी, समयको बचतका साथै थोरै समयमा धेरै काम गर्न सकिने भएकाले वितरण गरेको बताईन् ।
वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले वडाले ‘एक घर, एक ट्र्याक्टर’ अभियान सञ्चालन गरेअनुरुप ती सामग्री वितरण गरेको बताए । यसअघि पनि वडाका ८१ वटा समूहले ट्र्याक्टर वितरण गरिसकेको उनले बताए । नगरपालिकाका अन्य वडाले पनि किसानका लागि ट्र्याक्टर वितरण गर्ने काम गरिँदै आएको छ । पाँचखाल नगरपालिकाले ‘पाँचखाल नगर, कृषि शहर’ नाराका साथ कृषि क्षेत्रको विकास, प्रवद्र्धन र किसानको हितका लागि विविध कार्यक्रम आयोजना गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।
पत्रकारलाई स्वास्थ्य सामग्री र खाद्यान्न वितरण
प्रेस सङ्गठन नेपाल काभ्रेपलाञ्चोकले अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारलाई स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेको छ । सङ्गठनले व्यवसायी र सङ्घसंस्थाको सहयोगमा पत्रकारलाई सामग्री वितरण गरेको हो ।
सङ्गठनले जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यममा रहेर कोरोना प्रभावका बेलामा पनि अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारलाई सहयोगस्वरुप स्यानिटाइजर, मास्क, भिटामिन क्याप्सुल र साबुनलगायतका स्वास्थ्य सामग्री वितरण गरेको अध्यक्ष रामकृष्ण बञ्जाराले बताए । “अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारका लागि सहज होस् भन्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाको सहयोगमा करिब ४० पत्रकारलाई सो सामग्री वितरण गरेका हौँ”, उनले भने, “त्यससँगै निषेधाज्ञाका बेलामा गाउँबाट पत्रकारिताका लागि शहरमा आएर भाडामा बस्ने पत्रकारलाई सहयोगस्वरुप खाद्यान्नसमेत वितरण गरेका छौँ” उहाँले भन्नुभयो । सङ्गठनले १३ पत्रकारलाई खाद्यान्न वितरण गरेको उनले बताए ।
पत्रकारलाई सहयोगका लागि इस्क्रा कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर टीकाबहादुर तामाङ, दीपलक्ष्मी एग्रिगेट एण्ड मिनिङ प्रालि र अन्य व्यवसायीको सहयोगमा सामग्री वितरण गरेको सङ्गठनले जनाएको छ । यसअघि काभ्रेपलाञ्चोकका नेपाल पत्रकार महासङ्घले जिल्लामा सञ्चालित सञ्चारगृहमार्फत पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण गर्नुका साथै प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण गरेका थियो ।