पत्रपत्रिका

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

काठमाडौं । राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन् । तर पनि काठमाडौँ विश्वका १० अति प्रदूषित सहरको सूचीमा छ । यस्तो किन भएको होला ?

वायुको गुणस्तरसम्बन्धी तथ्यांक संकलन तथा प्रशोधन गर्ने स्विट्जरल्यान्डस्थित एयर भिजुयल नामक संस्थाका अनुसार गत सोमबार दिउँसो प्रदूषित सहरको सूचीमा विश्वका सय शहरमध्ये काठमाडौँ छैटौँ स्थानमा थियो ।

स्थानीय कारणसँगै देशका अन्य भागमा लाग्ने डढेलो, अन्य जिल्लामा कृषिजन्य वाली खेतमा डढाउँदा निस्किने उत्सर्जनसहितको प्रदूषित हावाको बहाव राजधानी खाल्डोमा आउँदा प्रदूषण बढ्ने गरेको मानिँदै आएको छ । यसैगरी भारत र अन्यत्रबाट समेत प्रदूषित हावा नेपाल भित्रिने गरेको विज्ञ औंल्याउँछन् ।

निषेधाज्ञापछि राजधानीमा वायु प्रदूषणमा अपेक्षित सुधार नदेखिनुको कारणबारे प्रदूषणको कारक मानिएका सूक्ष्म कणको बनावट अध्ययन गरेर त्यसको उत्पत्ति कसरी र कहाँ भएको हो भन्ने पत्ता लगाएपछि मात्र खुलाउन सकिने विज्ञ तथा सरकारी अधिकारीहरू बताउँछन्। ‘अहिले पनि वायु प्रदूषण उच्च रहनुले यसमा स्थानीय भन्दा बाह्य कारण बढी जिम्मेवार रहेको प्रस्ट भएको छ,’ वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशी भन्छन्।

वायु प्रदूषणको स्रोतसम्बन्धी विषयमा दक्षिण कोरियाबाट विद्यावारिधि गरेकी पाटन बहुमुखी क्याम्पस वातावरण विभागकी प्रमुख डा. शीला मास्के वैद्य अहिलेसम्म गाडी र कलकारखानबाट निस्कने उत्सर्जनमा मात्रै ध्यान केन्द्रित भएको बताउँदै थप्छिन्, ‘सही उत्तरका लागि वायु प्रदूषणका कणको बनावटको लगातार अध्ययन हुनुपर्छ।’यो समाचार आजको नागरिक दैनिकमा छ ।