काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू महान नेता विचारक तथा संगठक स्व. मदन भण्डारी र जिवराज आश्रितले निर्माण गरेका समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको बताएका छन्। गौतमले यसै सन्दर्भमा आफू आज फेरि उनीहरुको स्मृति दिवसमा उनीहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गरेको बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “आज जेठ ३ गते महान नेता विचारक तथा संगठक क. मदन भण्डारी र क. जिवराज आश्रितको स्मृति दिवस हो
आज पनि म उहाँहरूले निर्माण गर्नुभएको समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको छु। यसै सन्दर्भमा म आज फेरि उहाँहरुको स्मृति दिवसमा उहाँहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गर्छु। क. मदन र क. आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ । म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा (एमाले) सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु । यसनिम्ति आ-आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरु मुक्त हुन आग्रह गर्दछु । वामदेव गौतम, ३ जेठ २०७८”