पत्रपत्रिका

तातोपानी नाकाबाट भित्रियो २५ सय अक्सिजन सिलिन्डर

काठमाडौं, जेठ ४ । कोरोना संक्रमित बढेसँगै भएको अक्सिजनको अभाव पूर्ति गर्न चीनबाट आयात गरिएको अक्सिजनका सिलिण्डर तातोपानी नाकाबाट नेपाल भित्रिएको छ । नेपाली व्यापारीले मगाएका १८ हजार खाली सिलिण्डरमध्ये सोमवार मध्याह्न २५ सय थान तातोपानी भन्सारमा आइपुगको हो ।

उक्त सामग्रीको भौतिक जाँच गरी काठमाडौं पठाइने तातोपानी भन्सार प्रमुख नारदमणि गौतमले बताए । ‘स्वास्थ्य सामग्री क्यूमा नराख्न सरकारले निर्देशन दिएको र राजस्व पनि नलाग्ने भएकाले छिट्टै भन्सार प्रक्रिया पूरा गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ,’ उनले भने । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्रै खासाबाट ती सिलिण्डर तातोपानी नाकामा आइपुगेको उनको भनाइ छ ।

१० लिटर क्षमताको ती सिलिण्डर नेपा हिमा ट्रेड लिंकले आयात गरेको हो । त्यसको ढुवानीकर्ता सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले थप १५ हजार थान अक्सिजन सिलिण्डर, अन्य स्वास्थ्य सामग्री र उपकरण चीनको ल्हासा, मेम्बु, सिगात्से, न्यालम क्षेत्रमा आइपुगेको बताए । ती सामग्री तातोपानी नाका आइपुग्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।