टीकापुर । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि स्थानीय तहले न्याय सम्पादनका काम गर्न सकेका छैनन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलिएपछि कैलालीका स्थानीय तहमा न्याय सम्पादनका काम ठप्प भएका हुन् । न्यायिक समितिले काम गर्न नसकेपछि समुदायमा हुने विवाद तथा हिंसाका घटनासमेत बाहिर आउन सकेका छैनन् ।
“कोरोना सबैतिर बढेको छ । कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएपछि नागरिक घरभित्रै सीमित भएका छन् । हामी पनि कार्यालयमा गएर न्यायिक कार्य थालनी गर्ने अवस्था छैन”, टीकापुर नगरपालिकाका कानून अधिकृत केशरबहादुर थापाले भने , “यो समयमा उजुरी पनि आएका छैनन्, समुदायमा घटना भएनन् भन्न त सकिँदैन, सायद उजुरी गर्ने वातावरण नभएर होला ।” उनका अनुसार वैशाख महिनामा एक महिलाले श्रीमान्ले हिंसा गरे भनी फोन गर्नुभएको थियो । उहाँलाई प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । “त्यसबाहेक अन्य उजुरी आएका छैनन् । हामीले कार्यालयमा दुवै पक्ष बोलाएर मेलमिलाप गराउने, छलफल गराउने अवस्था पनि छैन”, उनले भने , “यो बेला सबैको ध्यान महामारी सर्नबाट कसरी बच्ने भन्नेमा छ । न्याय सम्पादनका विकल्पबारे अब छलफल आवश्यक छ ।”
कैलालीको जानकी गाउँपालिकाले पनि लकडाउनपछि न्याय सम्पादन गर्न सकेको छैन । गाउँपालिकाका कानूनी सल्लाहकार खेमबहादुर कठरिया दोस्रो भेरिएन्टपछि नागरिकले उजुरी गर्ने वातावरणसमेत नभएको बताए । ‘‘कर्मचारी नै धेरै जना सङ्क्रमित भएका कारण कार्यालय जाने वातावरणसमेत छैन, पुराना प्रक्रियामा रहेका कामसमेत ठप्प छन्”, उनले भने , “यो समयमा कुनै विवाद आएका छैनन् ।”
कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट समुदायमै फैलिएपछि सबै क्षेत्र प्रभावित भएको छ । हरेक महामारी तथा विपत्तिको समयमा महिला बढी प्रभावित हुन्छन् । “परिवारका सदस्य बिरामी हुँदा, घरमा आर्थिक समस्या पर्दा, घरपरिवार बेरोजगार बन्दा होस् या सामाजिक समस्या पर्दा महिलामा बढी प्रभाव पर्छ, जसले घरमा हिंसा बढाउँछ”, महिला स्वास्थ्य स्वयंसेविका चन्द्रावती शर्मा भन्छिन , “यस्तो समयमा महिलालाई अन्य समयभन्दा बढी सुरक्षा आवश्यक पर्ने हो तर यो विपत्तिको समयमा महिलामाथि हुने हिंसाका घटना सम्बोधन हुनसकेको देखिँदैन । स्थानीय तहले न्याय सम्पादनको काम सञ्चालनमा राख्नुपर्छ ।”
महामारीको समयमा परिवारका सदस्य संयमित र सहयोगी भएमा हिंसाका घटनामा कमी आउन सक्ने अधिकारकर्मी बताउँछन् । अधिकारकर्मी कमला केसी अघिल्लो वर्ष लकडाउनका समयमा महिलामाथि जघन्य अपराधका घटना धेरै भएकाले यस वर्ष घटना दबिएर बसेको हुनसक्ने बताइन । “गत वर्ष मानवअधिकार उल्लङ्घनका घटना धेरै भएका थिए । यस वर्ष घटना भन्ने, उजुरी गर्ने वातावरण नभएको हो कि ? खोजी गर्न आवश्यक छ”, उनले भनिन , “स्थानीय तहमा रहेका न्यायिक समितिले न्याय सम्पादन कार्य सञ्चालन राख्नुपर्छ । हरेक समस्याको उपाय हुन्छ । विकल्प खोजेर न्याय दिने काम गर्नुप¥यो ।”
कोरोना महामारीको समयमा महिलामाथि हुने हिंसाका घटना न्यूनीकरण गर्न प्रहरीलाई समेत कठिन भइरहेको छ । मानिसलाई छुन नमिल्ने, हिंसा गर्ने पीडकलाई ल्याएर प्रहरीकहाँ थुन्न नमिल्नेजस्ता समस्याले गर्दा पनि महिला हिंसाका घटना खासै सम्बोधन भएको देखिँदैन । इलाका प्रहरी कार्यालय टीकापुरमा वैशाख महिनामा तीनवटा मात्रै महिला हिंसाका घटना भएका उजुरी आएका छन् । गत वर्ष लकडाउनका समयमा महिलामाथि जघन्य अपराधका घटना भएका थिए । “यस वर्ष घटना खासै भए भनेर उजुरी वा खबर आएको छैन, हामी त जस्तो विपत्तिमा पनि सेवा दिन तयार छौँ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने , “हामीलाई फोन आएमा तुरुन्त गएर झैझगडा गर्नेलाई सम्झाउने, चोटपटक लागेको भए अस्पतालसम्म ल्याएर उपचार गर्ने, घटना दोहोरिन नदिनेजस्ता कार्य गरिरहेका छौँ तर यसपटक खासै उजुरी आएका छैनन् ।”