राजनीति

काँग्रेसको कडा प्रश्नः देशमा सरकार छ ? कहाँ छ ?

१४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिला सहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको बताएका छन् । उनले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठुलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको बताएका छन् ।
युवा नेता शर्माले बिज्ञप्तीमार्फत भनेका छन्, ‘जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुंदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ । देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो । सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै हो । नेपाली कांग्रेस मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवन रक्षाका लागि सम्पूर्ण रुपले केन्द्रित हुन प्रधानमन्त्रीलाई अपील गर्दै लापरवाहीले भएका प्रत्येक मृत्युु महंगो पर्ने चेतावनी दिन चाहन्छ ।’
उनले भनेका छन्, ‘अक्सिजनको अभावमा एकसाथ जिवन गुमाएका ६ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युु पश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत नेपाली कांग्रेस प्रधानमन्त्री एवं नेपाल सरकारलाई अपील र आग्रह गर्दछ ।’