बाग्मती

बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौँडालाई प्राथमिकता

वाग्मती । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौँडालाई लक्ष्य गरी विभिन्न विकास निमार्णका आयोजना प्राथमिकतामा परेका छन् । प्रस्तुत बजेटअनुसार सङ्घीय सरकारले पूर्वी मकवानपुरको छतिवनमा कृषि औद्योगिक बजार बनाउने योजना रहेको जनाएको छ । यसैगरी मकवानपुरको थाहानगरको चित्लाङलाई काठमाडौँसँग जोड्ने चित्लाङ–काठमाडौँ सुरुङमार्गको योजनासमेत बजेटमा समावेश भएको छ ।

सरकारले मकवानपुरको हेटौँडामा रहेको मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुतअनुसार आगामी दुई वर्षभित्र मकवानपुरको मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र पूरा गर्ने जनाएको छ । यसैगरी काठमाडौँको बालाजुमा रहेको विभिन्न उद्योग प्रतिष्ठान स्थानान्तरण गरी मयुरधापमा गए त्यस्ता उद्योगलाई १० वर्षसम्म जग्गा भाडा छुट दिने उल्लेख गरिएको छ ।

यसैगरी मकवानपुरको थाहानगरको चित्लाङलाई काठमाडौँसँग जोडने चित्लाङ–काठमाडौँ सुरुङमार्गको निर्माण शुरुआत आगामी आर्थिक वर्षबाट हुने भएको छ । आव २०७८/७९ को प्रस्तुत बजेट अनुसार यो आयोजना सम्पन्न गर्नको लागि बजेट विनियोजन गरिएको हो ।

यसैबीच मकवानपुरको विकासको मेरुदण्ड बनेको मदन भण्डारी राजमार्गअन्तर्गत चतरा–हेटौँडा सडकखण्डको बाँकी काम आगामी वर्ष सम्पन्न हुने भएको छ । यस सडकका लागि सरकारले आवश्यक बजेट छुट्याएको छ । प्रस्तुत बजेटअनुसार मदन भण्डारी विश्वविद्यालयअन्तर्गत मकवानपुरको चित्लाङमा निर्माणाधीन इञ्जीनियरिङ कलेज आगामी वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ । यसैगरी बजेटमा हेटौँडा उपमहानगरपालिका–१८ स्थित हर्नामाडीमा निर्माणाधीन खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने जनाएको हो ।

आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

प्रदेश राजधानी हेटौँडासहित मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका कोभिड–१९ बिरामी उपचारका लागि स्थापित सबै आइसोलेशन सेन्टरलाई आवश्यक पर्ने मासु र अण्डा पुनः मकवानपुर कुखुरा व्यवसायी सङ्घले उपलब्ध गराउन थालेको छ ।

सङ्घले मकवानपुरका सबै आइसोलेशन सेन्टरका सङ्क्रमितलाई एक महिनासम्म हप्ताको दुई दिन मासु र दैनिक अण्डा उपलब्ध गराउन थालेको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोकुलनाथ पौडेलले बताए । पहिलो चरणको कोरोना सङ्क्रमणको बेलामा पनि सबै आइसोलेशनमा एक महिनासम्म दैनिक अण्डा र हप्तामा दुई दिन मासु उपलब्ध गराएको सङ्घले दोस्रो चरणको सङ्क्रमणमा पनि सो कार्यलाई निरन्तरता दिएको हो । सङ्क्रमितलाई पोषणतत्व परिपूर्तिका लागि प्रतिव्यक्ति दैनिक दुई अण्डा र हरेक हप्ताको शनिबार र बुधबार मासु उपलब्ध गराउने छ । मासु र अण्डा एकैचोटी ल्याउँदा बिग्रने भएकाले आवश्यकतानुसार उपलब्ध गराउने सङ्घले जनाएको छ ।